केटीएमले साउन १५ गतेबाट आफ्ना मोटरसाइकलको मूल्य बढाउने

काठमाडौं । केटीएम मोटरसाइकलको मूल्य बढ्ने भएको छ । केटीएम मोटरसाइकलको लागि नेपालको लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले साउन १५ देखि सबै मोडलको मूल्य वृद्धि गर्ने भएको हो ।

कम्पनीले केही समय अगाडि नेपाली बजारमा आफ्ना सबै मोडलहरु बीएस ६ भर्सनमा सार्वजनिक गरेको थियो । त्यस पश्चात् कम्पनीले पहिलो पटक सबै मोडलको मूल्य वृद्धि गर्न लागेको जनाएको छ ।

कम्पनी स्रोतका अनुसार साउन १५ गतेदेखि सबै मोडलको मूल्य वृद्धि गर्ने तयारी रहेको छ । हाल केटीएम २०० र २५० ड्युक मात्र स्टकमा रहेको छ भने अन्य सबै मोडल सोल्ड आउट भएको कम्पनीले जनाएको छ ।

‘हामीले केटीएम २०० र २५० ड्यूक पुरानै मूल्यमा विक्री गरिरहेका छौं । नयाँ आउने मोटरसाइकलको मूल्य कति बढ्छ भनेर एकिन भइसकेको छैन’, कम्पनी स्रोतले भन्यो ।

भारतीय बजारमा नै मोटरसाइकलको मूल्य वृद्धि भएका कारण नेपालमा पनि मूल्य बढ्न लागेको कम्पनीको भनाई छ ।

हाल नेपाली बजारमा केटीएम २००, २५०, ३९० ड्युक, २५०, ३९० एड्भेन्चर र केटीएम आरसी २०० र आरसी ३९० मोटरसाइकल विक्री भइरहेको छ । हालको मूल्य अनुसार केटीएम २०० ड्युकको मूल्य ५ लाख ४४ हजार ९००, केटीएम २५० ड्युकको मूल्य ६ लाख ७४ हजार ९००, केटीएम ३९० ड्युकको मूल्य ८ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरी, केटीएम २५० एड्भेन्चरको मूल्य ७ लाख ४९ हजार ९०० र ३९० एड्भेन्चरको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ । साथै, केटीएम आरसी २०० को मूल्य ६ लाख १९ हजार ९०० र आरसी ३९० को मूल्य ८ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ । साउन १५ गतेदेखि यी सबै मोडलको मूल्य वृद्धि हुनेछ ।


Back_to_top