काठमाडौं । टोयोटाको फ्ल्यागसिप एसयूभी ‘ल्याण्ड क्रुजर एलसी ३००’ नेपालमा विक्री गरिरहेको छ । सन् २०२१ को जुनमा अन्तर्राष्ट्रिय बजारमा आएको नयाँ ल्याण्ड क्रुजर एलसी ३०० नेपाल आएको हो ।
टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नोभेम्बरमा नै यसको मूल्य सार्वजनिक गरेको थियो । कम्पनीले यसको मूल्य ४ करोड ९२ लाख निर्धारण गरेर विक्री सुरु गरेको हो ।
विश्व बजारमा नै चार वर्षसम्मको उत्पादन बुकिङ भइसकेको एलसी ३०० टोयोटाले वर्षमा ५ हजार यूनिट उत्पादन गर्ने जनाएको छ । कम्पनीले राखेको उत्पादन लक्ष्य अनुसार वार्षिक ५ हजार यूनिट मात्र उत्पादन हुन्छ भने अहिले बुकिङ करिब २१ हजार यूनिट पुगेको जनाइएको छ । विश्वभर यसको माग बढी रहेकाले बुकिङ बन्द गरिएको टोयोटा ग्लोबलले जनाएको छ ।
ल्याण्ड क्रुजर एलसी ३०० मा ३३४६ सीसी क्षतमताको दुइन टर्बो भि६ डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ३०५ पीएस पावर र ७०० एनएम टर्क प्रदान गर्छ । यसमा १० स्पीड अटोमेटीक गियरबक्स दिइएको छ ।
ड्यासवोर्डमा फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ डिजाइनको स्टेरिङ ह्वील, लेदर सिट पाउन सकिन्छ । साथै, टोयोटाले नयाँ जेनेरेशन मोडलको तौल २०० किलोग्रामले घटाएको छ । नयाँ जेनेरेशन ल्याण्ड क्रुजर पहिलो पटक टोयोटाको टिएनजीए प्ल्याटफर्ममा तयार भएको हो । नयाँ प्लेटफर्मको कारण यसको कुल तौलसमेत घटेको हो ।

एलसी २०० को तुलनामा एलसी ३०० मा निकै आकर्षक ग्रिल दिइएको छ । ग्रिलको बीचमा थुप्रै एयर भेन्टहरु दिइएको छ । अगाडिको ग्रिलमा होरिजेन्टल क्रोम फिनिसिङ, नयाँ डिजाइनको रेक्टेङगुलर आकारको हेडल्याम्प, बक्सी डिजाइन बडी, आकर्षक रुफरेल जस्ता फिचर देख्न सकिन्छ ।
पूर्णत नयाँ डिजाइनको ड्यासवोर्ड प्रयोग भएको एलसी ३०० मा ९ इन्च र १२ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जिङ, ३६० डिग्री क्यामेरा, हेड अप डिस्प्ले, पावर टेलगेट, पावर एड्जस्टेवल स्टेरिङ ह्वील, फिङ्गर प्रिन्ट एथेन्टीकेशन सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।
टोयोटा सेफ्टी सेन्स स्वीट फिचर प्रयोग भएको यो गाडी क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, एडप्टीभ हाइ बीम जस्ता फिचर उपलब्ध रहेका छन् ।

