काठमाडौं । विश्वका ४ ठूला कार खपत गर्ने देशहरुमा एसियाली मुलुकहरुको दबदबा रहेको छ । २०१८ को सुरुवाति ३ महिनामा चीन, जापान र भारत क्रमशः पहिलो, तेस्रो र चौथो स्थानमा रहेका छन् भने अमेरिका दोस्रो स्थानमा रहेको छ ।
कार तथा स्पोर्टस यूटिलिटी भेइकल (एसयूभी)को बिक्री उच्चविन्दुमा बढेपछि भारत विश्वको चौथो ठूलो प्यासेन्जर भेइकल (पीभी) बजार बन्न सफल भएको छ । २०१८ को जनवरी र फेब्रुअरीको तथ्यांकका आधारमा भारतले जर्मनीलाई उछिनेको हो ।
उक्त अवधिमा भारतमा ५ लाख ६० हजार ८ सय ६ प्यासेन्जर कार बिक्री भएको थियो । त्यस्तै, सोही अवधिमा जर्मनीमा ५ लाख ३१ हजार १ सय सवारी बिक्री भएको हो । योसँगै भारत चीन, अमेरिका र जापानपछि धेरै कार बिक्री हुने देश बनेको छ ।
धेरै प्यासेन्जर सवारी बिक्री हुने विश्वका देशहरूमा जर्मन पाँचौ स्थानमा पुगेको छ भने छैटौंमा ब्राजिल र सातौंमा फ्रान्स रहेका छन् ।
सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर (एसआईएएम)ले गरेको अध्ययनअनुसार २०१८ को जनवरी र फेब्रुअरीमा चीनमा करिब ४० लाख सवारी बिक्री हुँदा दोस्रो स्थानमा रहेको अमेरिकामा ८ लाख १८ हजार ८ सय ८२ वटा प्यासेन्जर सवारी बिकेको थियो ।
त्यस्तै, तेस्रो स्थानमा रहेको जापानमा उक्त दुई महिनामा ७ लाख ४१ हजार ३ सय ८५ कार बिक्री भएको थियो ।
२०१८ मा जर्मनीले कार बिक्री २ प्रतिशतले बढ्ने प्रक्षेपण गरेकोमा भारतले करिब १० प्रतिशतको वृद्धि सार्वजनिक भएको छ । जर्मन अटोमोबाइल संस्था भीडीएकाअनुसार २०१८ मा भारतमा करिब ३६ लाख प्यासेन्जर सवारी बिक्री हुने र जर्मनीमा पनि सोही संख्यामा बिक्री हुने अनुमान गरिएको छ ।
त्यस्तै, चीनमा २ करोड ५० लाख, अमेरिकामा १ करोड ७० लाख र जापानमा ४३ लाख प्यासेन्जर सवारी बिक्री हुने अनुमान भीडीएले गरेको छ । त्यस्तै, यूरोपेली युनियनका सदस्य राष्ट्रहरूमा प्यासेन्जर कार बिक्री १ करोड ५६ लाख हुने अनुमान गरिएको छ ।

