पर्सा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वैशाख १५ गतेभित्र देशभरिकै राजमार्ग र सहायक राजमार्गको मर्मतसम्भार पूरा हुने बताएका छन् ।
मन्त्री महासेठले सडक विस्तारले नै समृद्ध राष्ट्र बनाउने र गुणस्तरीय सडकले विकासलाई गति दिने भएकाले आउँदो १५ दिनभित्र देशभरिकै राजमार्ग तथा सहायक राजमार्गको मर्मत पूरा गर्न सम्बन्धित कार्यालयलाई जिम्मा लगाइएको बताए ।
आवाज एफएफको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महासेठले वैशाख १५ गतेभित्र राजमार्गको काम पूरा नभए सम्बन्धित क्षेत्रका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् । वीरगञ्जको अलौमा निर्माण भएको एकीकृत जाँच चौकी (आइसिपी) डेढ महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन हुने उनले दाबी गरे ।
आइसिपी अगाडिको ७०० मिटर सडकमा परेको जग्गाका लागि ९२ करोड रुपैयाँ मुआब्जा छुट्याएको र आउँदो दुई महिनाभित्र सडक निर्माण पूरा भएपछि आइसिपी पूर्ण क्षमतामा सञ्चालन हुने उनले बताए ।