काठमाडौं । तिहार लगत्तै कम मूल्यको ह्याचव्याक कार खोज्नेलाई नयाँ अप्सन थपिने भएको छ । यसअघि नै नेपालमा बिक्री सुरु हुने बताइएको लीप मोटर्सको टी-०३ नेपाल आउने भएको हो ।
यूरोपियन जाइन्ट स्टेलान्टीसको लीप मोटर्समा प्रबेशसँगै साँग्रिला मोटर्स नयाँ डिलर नियुक्त भएको टी-०३ सबैभन्दा पहिला आउने मोडल मानिएको थियो । तर, कम्पनीले सी-१० एसयूभी सुरुमा लन्च गरेको थियो ।
दशैं अगाडि नै ठूलो संख्यामा सी-१० ग्राहकलाई डेलिभरी दिनेगरी आयात भएको भएपनि वर्षाको कारण तातोपानी भन्सार नजिकै चिनियाँ भूभागमा यी गाडी रोकिएका छन् । सम्भवत शुक्रबारसम्ममा बाटो खुल्ने र सी-१० एसयूभी नेपाल आउने छन् ।
अहिले सी-१० को बिक्री सुरु गर्ने कम्पनीले टी-०३ ह्याचव्याक पनि नोभेम्बरमा ल्याउने छ । नोभेम्बरमा आउने गाडी डेमो भेहिकल हुनेछ । यसको आधिकारीक बिक्री भने जनवरी २०२५ बाट सुरु हुने अनुमान लगाउन सकिन्छ ।
स्टेलान्टीसको प्रबेशसँगै यूरोपियन बजारको लागि उत्पादन भएको टी-०३ नेपाल आउने छ । जुन उत्पादन गुणस्तरको हिसावले निकै उत्कृष्ट हुने मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् ।
यस्तो हुनेछ टी-०३
नेपाल आउने टी-०३ मा ७० वा ५० किलोवाटको कुन मोटर हुन्छ भन्ने एकिन जानकारी बाहिर आएको छैन । लीप मोटर्सले यसलाई यूरोपियन बजारमा ७० किलोवाट क्षमताको मोटरमा उपलब्ध गराएको छ ।
लगभग १२ फिट लामो टी-०३ र चौडाई ५ फिट रहेको कार निकै स्मार्ट देखिएको छ । यसमा ८ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध कारको ड्यासबोर्ड र ढोकाका धेरै जसो स्थानमा हाड प्लाष्टिक प्रयोग गरिएको छ ।
लीप मोटर्सले यसमा ३७.३ किलोवाट आवरको ब्याट्री दिएको छ । यसको डब्लूएलटीपी रेन्ज २६५ किलोमिटर छ । एसी ६.६ किलोवाट र डिसी ४५ किलोवाट क्षमतासम्मका चार्जर सपोर्ट गर्ने टी-०३ बजारको लागि एक आकर्षक ह्याचव्याक कार हुन सक्ने देखिन्छ ।
यसअघिको आयातकर्ताले २५ लाख ९० हजार मूल्य तोकेको टप भेरियन्ट साँग्रिला मोटर्सले कति मूल्यमा ल्याउने छ, त्यो हेर्न भने निकै रोचक हुनेछ ।

