रफ्तारमा लीपमोटर, मासिक बिक्री पुग्यो ४८ हजार

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरको बिक्रीले रफ्तार लिएको छ । कम्पनीले एक महिनामै अहिलेसम्मकै धेरै ४८ हजार युनिट कार बिक्री गर्न सफल भएको हो ।

युरोपियन ग्रुप स्टेलान्टीसको प्रवेशसँगै लीपमोटरको बिक्री तीव्र गतिमा विस्तार भइरहेको छ । स्टार्टअप कम्पनी मध्ये लीपमोटर विगत एक वर्षदेखि माथिल्लो श्रेणीमा रहँदै आएको थियो ।

कम्पनीले जुन महिनाको बिक्रीमा ४८ हजार ६ युनिट भएको रिपोर्ट सार्वजनिक गरेसँगै उक्त संख्या एकै महिना बिक्री भएको सबैभन्दा धेरै युनिट हो । सन् २०१५ मा स्थापना भएको लीपमोटरले ८ लाख युनिट विद्युतीय गाडी बिक्री गरिसकेको छ ।

लीपमोटरले सन् २०२५ को पहिलो हाफसम्ममा २ लाख २१ हजार ६६४ युनिट कार बिक्री गरेको जनाएको छ । जुन संख्या चीन र निर्यात समेतको हो ।

सन् २०२४ मा कुल २ लाख ९३ हजार ७०० युनिट कार बिक्री गरेको थियो । सन् २०२५ मा ५ लाख युनिट कार बिक्री गर्ने लीपमोटरले लक्ष्य लिएको छ । कम्पनीले युरोपमा ७०० बिक्री केन्द्र पुर्याउने लक्ष्य लिएको छ । अहिले ४०० स्थानबाट युरोपका १३ देशमा लीपमोटरका गाडी बिक्री हुँदै आएको छ ।


Back_to_top