काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले आफ्नो फुल साइज एसयूभी डी १९ दुई सातापछि बजारमा ल्याउने भएको छ । कम्पनीले सोमबार वेबोमा तालिका सार्वजनिक गर्दै आगामी अप्रिल १६ मा लन्च गर्ने घोषणा गरेको हो ।
कम्पनीले यो एसयूभी करिब साढे ४३ हजार अमेरिकी डलरमा बजारमा ल्याउने अनुमान छ । सन् २०२६ मा १० लाख सवारी बिक्री गर्ने लक्ष्य राखेको कम्पनीले आक्रमक रूपमा एकपछि अर्को प्रोडक्ट बजारमा ल्याएको हो । गत साता मात्रै लीपमोटर ए१० सार्वजनिक गरेको थियो ।
अघिल्लो नियामकिय फाइलिङ अनुसार लीपमोटर डी१९ को लम्बाइ ५२५२ एमएम, चौडाइ, १९९५ एमएम र उचाइ १७८० एमएम छ । यसको ह्वीलबेस ३१०० एमएम लामो छ ।
डी १९ लीपमोटरको नयाँ फ्यागशीप डी प्लेटफर्ममा बनेको हो । यो प्योर ईभी र ईआरईभी दुई फरक पावरट्रेनमा आउनेछ ।
१००० भोल्ट प्ल्याटफर्ममा निर्माण भएको प्योर ईभी भर्सनमा ११५ किलोवाट आवरको सीएटीएलको हाइब्रिड सेल ब्याट्री छ । यसले एकपटको फुलचार्जमा ७२० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
त्यस्तै, रेन्ज एक्सटेन्डर भर्सन ८०० भोल्ट प्लेटफर्ममा बनेको छ । ८०.३ किलोवाट आवरको ब्याट्रीप्याक रहेको यो ईआरईभीले ५०० किमि प्योर इलेक्ट्रीक रेन्ज दिनेछ । डी १९ ले केवल ३ सेकेण्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेटाउन सक्नेछ ।
डी १९ डुअल क्वालकम ८७९७ चिप्सद्वारा संचालित छ । जसले १,२८० टीओपीएसको कुल कम्प्युटिङ पावर प्राप्त गर्दछ ।
नेपाली बजारमा लीपमोटरका कार सांग्रिला मोटर्सले बिक्री गर्दै आएको छ । नेपालमा लीपमोटर सी १०, बी१० र टी०३ जस्ता प्योर इलेक्ट्रीक भर्सन बिक्री हुँदै आएको छ ।

