काठमाडौं । दुई महिनाको अवधिमा आइकार भी-२३ लाई ३ हजार ९०० किलोमिटर माथि चलाएपछि यसको बारेमा केही लेख्दैछु । मेरोअटो डटकमले खरिद गरेको उक्त आइकार भी-२३ लाई किन्ने बित्तिकै काठमाडौंबाट घान्द्रुकसम्म लगेको थिए ।
त्यसपछि निर्वाचनको प्रचार प्रसार चलिरहँदा मधेसका ७ जिल्ला हुँदै कोशी प्रदेशको उदयपुरसम्म पुगियो । साथै, बागमती प्रदेशको सिन्धुली हुँदै बिग्रिएको बीपी हाइवेमा यसलाई चलाइयो । यी सबै यात्रामा गाडीमा चार जना थियौं । गाडीमा बसेका मानिसको औषत तौल ७५ केजी थियो ।
उपत्यकामा अफिसको कामको लागि निरन्तर यसलाई चलाए पनि गाडी ३५०० किलोमिटर आसपास दौडिएको थियो । त्यसपछि पुनः पोखरा जाने र यसको ड्राइभिङ अनुभव तपाईंहरू माझ सेयर गर्ने योजना अनुसार भिडियो निर्माण गरेका हौं ।
किनेपछि ३ हजार ७०० किलोमिटर चलाएपछि आइकार भी-२३ को ड्राइभिङ अनुभवका बारे जान्न तलको भिडियो हेर्नुहोला । भिडियोमा आइकार भी-२३ को बलियो कमजोर पक्षका विषयमा चर्चा गरिएको छ ।
रेन्ज, पावर र डिजाइनमा घुमेको एसयूभी
आइकार भी-२३ को रेन्ज ३०० किलोमिटर माथि सजिलै पाउन सकिन्छ । यसमा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री छ । यो ब्याट्री सीएटीएलले उत्पादन गरेको हो ।

रियर ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध आइकार भी-२३ मा १०० किलोवाटको इलेक्ट्रीक मोटर छ । उक्त मोटरले १८० न्युटन मिटर टर्क प्रदान गर्छ । पवारको तुलनामा यसको पीकटर्क भने कम नै छ ।
किनेदेखि अहिलेसम्म स्लो चार्जिङ प्रयोग नै गरिएको छैन । सधैं फास्ट चार्जिङ प्रयोग गरेको कारण चार्जिङ रेटको बारेमा दाबी गरेर यहाँ उल्लेख गर्न सकिन्छ । यसलाई ६० किलोवाट क्षमताको डीसी चार्जरले चार्ज गर्दा ५८ किलोवाटले चार्ज लिन्छ । १२० किलोवाटको चार्जर प्रयोग गर्दा ८० किलोवाटको दरले लिन्छ ।

आरामदायी सिट, ठूलो स्टेयङि ह्वील, १९ इन्चको विशाल ह्वील, एसयूभीमा प्रवेश गर्न दिइएको फुटपेज जस्ता कुरा यसको बलियो पक्ष हो । अगाडिको भाग क्लासिक रेट्रो र बडी बक्सी डिजाइनमा बनेको कारण पनि धेरैले यसलाई रुचाएका हुन् ।
कमजोर पक्ष
पछाडि बस्ने यात्रुको लागि छुट्टै एसी भेन्टको प्रयोग नहुनु, क्याबिनमा सामान राख्ने स्थानको कमी र इन्स्ट्रुमेन्ट क्लस्टर नहुँदा खल्लो महसुस हुन्छ । साथै, वायरलेस चार्जरको कमी पनि प्रयोगकर्ताले गर्छन् ।

यी कमजोर भनिएका पक्षको कम्पनीले केही समाधान पनि खोजिसकेको छ । हाम्रै गाडीमा पनि इन्स्ट्रुमेन्ट क्लस्टर थपिएको छ । वायरलेस चार्जर पनि कम्पनीले नै मगाएकाले आवश्यक पर्दा लगाउन सकिन्छ । अन्य कुमजोरीलाई मूल्यले जित्छ ।
एसपीजी अटोमोबाइल कम्पनीले ४९ लाख ९९ हजार रुपैयाँ मूल्य कायम राखेर आइकार भी-२३ बिक्री गर्दै आएको छ । जुन मुल्यका हिसाबले आकर्षक मान्न सकिन्छ ।

