नेपाल भित्रियो मोटरसाइकल ब्राण्ड लेट्बी, बुकिङ खुला

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्राण्ड ‘लेट्बी’का मोटरसाइकल भित्रिएका छन् । नेपालमा क्रसफायर तथा इटालीका मोटरसाइकलको आधिकारिक वितरक समेत रहेको क्लासिक ह्वीलले नयाँ ब्राण्ड भित्र्याएको हो ।

कम्पनीले लेट्बी ब्राण्डका फ्लाइगोन हिल्स र फ्लाइगोन सिटी मोटरसाइकल नेपाल ल्याएको हो । कम्पनीले आफ्नो सामाजिक संजाल मार्फत दुवै नयाँ मोटरसाइकलको बुकिङ खुलाएको जानकारी दिएको छ ।

कम्पनीले नयाँ मोटरसाइकल लन्च गर्ने आधिकारिक मिति घोषणा गरेको छैन । तर, बुकिङ खुलाइसकेकाले चाँडै सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा लेट्बी ब्राण्डका थुपै्र मोटरसाइकल तथा स्कुटर उपलब्ध छन् । नेपालमा सुरुआती चरणमा एड्भेन्चर र सीटी सेग्मेन्टमा आधारित दुई मोडल सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दुवै मोडललाई फरक–फरक प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने गरी निर्माण गरिएका मोटरसाइकल हुन् । लेट्बीको अन्तर्राष्ट्रिय वेबसाइट मार्फत लिइएको रिपोर्ट अनुसार लेट्बी फ्लाइगोन हिल्स विशेषगरी एड्भेन्चर तथा अफ–रोड राइडिङ रुचाउने ग्राहकलाई लक्षित गरिएको अफरोड क्रसओभर मोडल हो ।

त्यसैगरी फ्लाइगोन सीटी भने दैनिक सहरी आवागमनलाई ध्यानमा राखेर तयार गरिएको छ । यसलाई हल्का, सहज ह्याण्डलिङ र आरामदायी सीटी राइडिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ विकास गरिएको छ ।

दुवै मोटरसाइकल २२० सीसी क्षमताको इन्जिन प्लेटफर्ममा आधारित छन् । फ्लाइगोन मोटरसाइकलमा दिइएको इन्जिनले १७ एनएमसम्मको टर्क जेनेरेट गर्छ ।

विल्कुलै फरक शैलि र डिजाइनमा रहेको फ्लाइगोन मोटरसाइकलमा युरो ५ मापदण्ड अनुसारको इन्जिन सेटअप, मोर्डन किसिमको टीएफटी डिस्प्ले, नेभिगेसन, नयाँ आकारको एलईडी हेडल्याम्प सेटअप, डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल, आकर्षक सस्पेन्सन सेटअप, हिट प्रोटेक्ट एग्जस्ट, डुअल सीट सपोर्ट डिजाइन, वायर स्पोक ह्वील लगायतका सुविधाहरू छन् ।

कम्पनीले दुवै मोटरसाइकलको स्पेसिफिकेसन बारे विस्तृत जानकारी भने दिएको छैन । सबै विवरण आधिकारिक लन्चका क्रममै सार्वजनिक गरिने कम्पनीको भनाइ छ ।


Back_to_top