लाइसेन्सको आवेदन दशैंपछि मात्र खुल्ने, डाटा सुरक्षित

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवदेन दशैंपछि मात्र खुल्ने भएको छ ।

भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा भएको तोडफोड, लुटपाट तथा आगजनीबाट इलेक्ट्रोनिक उपकरण, प्रिन्टर, सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता (ईडीएलभीआरएस) सम्बन्धी सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

अब क्षति भएकाे सर्भर मर्मत गरी लाइसेन्स सम्बन्धी सेवा दशैंपछि मात्रै संचालन गरिने भएको हो । विभागका सूचना प्रवधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले लाइसेन्सको नयाँ आवेदन दशैंपछि मात्रै खुलाउने योजना रहेको बताए ।

‘आगलागीबाट प्रिन्टर मेसिन, छापिएका २० हजार बढी लाइसेन्स र ठूलो संख्यामा स्मार्ट कार्ड जलेको छ । सर्भरमा क्षति पुगेको छ, तत्काल लाइसेन्स सम्बन्धी सेवा प्रवाह गर्न सक्ने अवस्था छैन,’ उनले मेरोअटोसँग भने, ‘अब सर्भर बनाइ दशैंपछि मात्रै आवेदन खुलाउने योजना छ ।’

आगलागीबाट ठ्याक्कै कति लाइसेन्स र स्मार्ट कार्ड जले भन्ने एकिन तथ्यांक आइनसकेको उनले बताए । ‘अहिले सेवाग्राही प्रतिक्षालयका लागि बनाइएको टहराबाट काम सुरु गरेका छौं । क्षतिका विवरणहरू संकलन हुँदैछ । दुई/चार दिनमा एकिन विवरण आउला,’ उनले भने । साथै, सुरक्षित भेटिएका केही लाइसेन्स पनि चाँडै वितरण गरिने उनकाे भनाइ छ ।

उनले आगजनीबाट भवन जले पनि लाइसेन्स सम्बन्धी विवरण (डाटा) सुरक्षित नै रहेको बताए । ‘आगजनीबाट भवन पूरै जलेको छ । केही हार्डडिस्क चोरी पनि भएको छ । केही सुरक्षित नै भेटिएका छन्,’ उनले भने, ‘भवन जले पनि ब्याकअप राखिएको ठाउँमा धेरै क्षति पुगेको छैन । ब्याकअप सुरक्षित नै भेटिएकाे छ । त्यस्तै, सिंहदरवारको डाटा सेन्टरमा पनि ब्याकअप छ । त्यसैले लाइसेन्स सम्बन्धी अधिकांश विवरण सुरक्षित छ ।’

उनले लाइसेन्स छाप्प राखिएको स्मार्ट कार्ड पनि एक लाख बढी स्मार्ट कार्ड पनि सुरक्षित भेटिएको बताए ।

देशभरबाट औसतमा दैनिक ६ देखि ७ हजारसम्म नयाँ लाइसेन्स र नवीकरणका लागि आवेदन आउने गरेको विभागको भनाइ छ । त्यस्तै, विभागले दैनिक ५०० हाराहारीमा आपतकालीन लाइसेन्स सेवा उपलब्ध गराउँदै आएको थियो । यी सबै काम अहिले ठप्प भएको छ ।

अहिले देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स सेवा प्रदान गरिँदै आइएको छ ।


Back_to_top