हरियो नम्बर प्लेट लगाएर संचालनमा आउँदै थन्केका विद्युतीय बस र भ्यान

काठमाडौं । लुम्बिनी विकास कोषको प्रङ्गणमा लगेर थुपारिएका विद्युतीय सवारीसाधन संचालनमा आउने भएका छन् । दुई वर्षभन्दा लामो समयदेखि थन्केर बसेका विद्युतीय साधन संचालनमा आउने भएका हुन् । पहिले सेतो नम्बर प्लेट लागेका यी साधन अब हरियो नम्बर प्लेटमा गुड्ने छन् ।

बीवाइडी कम्पनीका बस र भ्यान दातृनिकायको सहयोगमा ल्याइए पनि प्रदेश सरकारले संचालनको लागि आवश्यक कानुनी प्रक्रिया पुरा नगर्दा त्यतिकै गाडी थन्केर बसेका थिए ।

प्रदेश मन्त्रिपरिषद्को २०८० वैशाख ८ गतेको बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा लुम्बिनी विकास कोषका पाँच विद्युतीय बस र १४ भ्यानलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा रुपान्तरण गरी सेवा प्रदान गर्न स्वीकृति दिने निर्णय गरेसँगै यी साधन संचालनमा आउने भएका हुन् ।

एसियाली विकास बैंकको सहयोगमा ‘क्लिन इनर्जी प्रोजेक्ट’अन्तर्गत किनिएका र अनुदानमा आएका यी साधनको लागि छुट्टै चार्जिङ स्टेसनसमेत निर्माण गरिएको थियो । अब चार्जिङ स्टेशन र सवारी साधन दुबै संचालनमा आउने भएका हुन् ।

लुम्बिनीलाई प्रदूषणमुक्त राख्न २०७७ मङ्सिर ९ गते यी विद्युतीय बस र ट्याक्सी लुम्बिनी ल्याइएको थियो । अब यी साधन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायत क्षेत्रमा संचालन हुनेछन् ।

अबको एक महिना भित्रै बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र तिलौराकोट, देवदह, रामग्रामसहित नेपाल भारत सीमा बेलहिया र बुटवल क्षेत्रसम्म यातायात सेवा दिने लुम्बिनी विकास कोषले जनाएको छ ।


Back_to_top