काठमाडौं । मूल्यको हिसावले २० लाख रुपैयाँ हाराहारी मूल्य पर्ने इलेक्ट्रीक कार नेपाल आउने भएको छ । चांगानको मिनी कार लुमिन नेपाल आउन लागेको हो ।
‘अहिले गाडी बाटोमा छ । केही दिन भित्रै नेपाल आइपुग्ने छ’, एमएडब्लू वृद्धि मोटोकर्प स्रोतले भन्यो । कम्पनीको अनुसार आगामी हप्ताको अन्तिमसम्म लुमिन ईभी काठमाडौं आउने छ ।
चांगान लुमिन मिनी ईभीमा ३५ किलोवाटको मोटर तथा २७.९९ र १७.६५ किलोवाट आवरको सीएटीएलको ब्याट्री प्याक छ । सम्भवत कम्पनीले दुबै ब्याट्री अप्सनमा यसलाई नेपाल ल्याउने छ ।
लुमिनको राम्रो पक्ष के हो भने यसले डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई डिसी फास्ट चार्जरले ३५ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ ।

‘इपीए जीरो प्योर इलेक्ट्रीक प्लेटफर्म’मा बनेको लुमिन दुई ढोका भएको ४ जनाले आरामदायी तरिकाले यात्रा गर्न मिल्ने विद्युतीय कार हो । यसको लम्बाई ३२७० एमएम, चौडाई १७०० एमएम र उचाई १५४५ एमएम छ ।
यसको चौडाई अन्य मिनी कारको तुलनामा धेरै भएको कारण यात्रुले निकै आरामदायी यात्रा गर्न पाउने छन् । यसमा १९८० एमएम लामो ह्वीलवेस रहेको छ ।
निकै आकर्षक इन्टेरियर रहेको लुमिन ईभीमा थ्री स्पोक स्टेरिङ ह्वील, १०.२५ इन्चको फ्लोटीङ टचस्कृन, रिभर्स क्यामरा, मोवाइल फोन इन्टरकनेक्सन, भोइस कन्ट्रोल जस्ता हाइटेक फिचर पाउन सकिन्छ ।

