सुरुवाति तीन दिनको यात्रा अनुभवको लागि यहाँ क्लिक गर्नुहोस् ।
चौथो दिन
चौथो दिनको यात्रा मुक्तिनाथसम्मको थियो । जोमसोमको ओम्सहोममा दिनको खाना खाएर मुक्तिनाथ तर्फ बढियो । जोमसोममा रहेको ओम्स होमको पनि आफ्नै इतिहास छ । बडिउडको चर्चित चलचित्र ‘खुदाह गवाह’मा देखाईएको अफ्गानिस्थानको दृष्यहरु यही जोमसोममा छायांकन भएको र चर्चित कलाकारहरु अमिताब बच्चन, श्रीदेवी तथा डेनीडेनजोम्पा जस्ता कलाकारहरु यहि होटलमा बसेका थिए । उनिहरुको तस्विर र हस्ताक्षर गरेका पत्रहरु उक्त होटलमा टोसेका रहेछन् ।

कागवेनीदेखि मुक्तिनाथको वेससम्म बाटो त पुरै पिच रहेछ । सायद बाह्रै महिना पर्यटकका लागि सहज हुन्छ भनेर होला । तर पहिलो अनुभवमै मुक्तिनाथ पर्यटकहरुका लागि त्यति वेलकमिङ्ग लागेन ।

आफूले लिएर गएको गाडी मुक्तिनाथको तलको मुख्य बजारमा रात नपरि लान नपाउने रे । बाहिरै पार्किङ्गमा राख्नु पर्ने रे । त्यहाँ मन्दिरसम्म जानका लागि घोडा खच्चड तयारी अवस्थामा रहेका थिए । जम्मा १० मिनेटको बाटो नेपालीलाई ३ सय विदेशीलाई ५ सय एकतर्फिको मात्र । त्यसैले त सिजनमा दिनकै ३० हजारसम्म आम्दानी गर्दा रहेछन् उनीहरुले ।
पछि थाहा भयो यी गाडीहरुको रानीपौवा बजारमा निशेधाज्ञा स्थानीय बजारमा पर्यटकहरुले सामान किनुन् र घोडाले मनज्ञ सवारी पावस भनेर गरेको रहेछ । ठिकै छ तर यदि कोही बुढा–बुढी घोडामै बस्न नसक्ने रहेछन् वा कोही नन्हिन्दु पर्यटक पूगेका रहेछन् भने के गर्ने । रात परुन्जेल कुरेरै बस्ने त्यो जाडोमा पार्किङ्गमा !
बजारका पसेलेहरु पनि असाध्यै छुच्चा देखिए । केही सामानको मूल्य सोध्यो कि किन्नै पर्ने जस्तो व्यवहार गर्ने । हामीलाई बुकिङ्ग गरिएको होटल जहाँ ३ घण्टा जति कुरेर पुगिएको थियो जाने बित्तीकै विवाद ।
हामी वाथरुममा तातोपानी खोज्दै थियौ उनिहरु ग्याँस गिजरबाट बेच्न खोज्र्दै थिए । अझ पिउनका लागि पनि सानो फ्लसमा राखेको तातो पानीकै १०० रुपैँया रे । लोमो विवाद र बुकिङ्ग गरेको ट्राभल एजेन्सीलाई फोन गरेपछि समस्या हल भयो वाथरुममा तातोपानी आउने तर सोलार पावरले तातेको पानी कति वेरसम्म पुग्छ ठेगान छैन । सबैको मुड खराव भएको थियो ।

हाम्रो टोलीका डक्टरलाई लागेछ अब स्वास्थ्य परिक्षण गर्नुपर्छ । सबैको हार्टवीट र रगतको अक्सिजन लेबल जाँच भयो । १/२ जनालाई केही समस्या हो कि जस्तो देखियो । आवश्यक औषधी पनि दिइयो ।
पाँचौ दिन
मुक्तिनाथको बासपछि अब हाम्रो यात्रा थियो । उपल्लो मुस्ताङ्गको अथेन्टिक मुस्ताङ्गको । जहाँ जानका लागि कागवेनीमा परमिट लिनु पर्ने रहेछ । जसको मूल्य विदेशी पर्यटकहरुका लागि ५०० डलर । मलाई त अचम्मै लाग्यो । नेपाल आउन भिषा शुल्क ३० देखि ५० डलर तर, अपर मुस्ताङ्ग जान ५०० डलर । अपर मुस्ताङ्गको यात्रा सारै अद्भुत । फेरिदै गएका पहाडका रङ्गहरु ।
हिमालको असाध्यै राम्रो दृष्यहरु । बीच बीचमा भेटिने गुचुमुच्च बस्तीहरु जहाँका सबै घरहरुका एकै उचाइहरुले साँचै नै अर्कै संसारमा पूगेको अनुभव भइरहेको थियो । बाटाहरु फेरि त्यस्तै कही समथर, अनि अचान उकालो फेरी खोला अनि धुलेबाटो जहाँ गाडीको चक्कानै डुवाउने । तर, महिन्द्राको स्कर्पियो र थारको क्षमतामा भने कही कतै शंका मान्नु परेन । अझ ४ बाइ ४ लोमा राखेर चलाएपछि त झन जस्तोसुकै बाटामा पनि सरर चड्ने ।

अपर मुस्ताङ्गको पहिलो बास सोमरमा थियो । गुरुङ्ग सम्प्रदायको बस्ती अनि होटलवाला साहु साहुनीपनि असाध्यै फरासीला मिजासीला । छोरा पेमा काठमाडौंमा स्नातकसम्म अध्ययन गरेर गाँउ फर्केका रहेछन् ।
मैले उनलाई सोधे काठमाडौको सुविधामा बसेर गाँउमा बस्दा व्यवसाय चलाउन केही अफ्ट्यारो लागेको छैन ? उनले बाहु बाजेको थलो र व्यवसायलाई अघि बढाउन आफु आएको बताए । उनले त्यहाँ बस्नुको छुट्टै रमाईलो समेत सुनाए । फेरि हिउँदको ६ महिना त तलनै झर्ने हो यहाँ त हिउँ परेपछि बस्न सकिदैन अनले भने ।
फेरी मैले सोधे बुबाले चलाएको पेशामा तपाईले के परिवर्तन ल्याउनुभयो त ? उनले भने केही पनि परिवर्तन गर्न सकेको छैन । ‘बुबाहरु घोडा चडेर तलमाथि हिड्नु हुन्थ्यो हामी चाहि डर्ट बाईक चडेर हिड्छौ’ उनि लामो हाँसो हाँसे ।
छैठौं दिन
सायद यो एक्पिडीसनको आयोजना उद्देश्य अनुरुप अफरोड अनुभव कम भएको जस्तो लागेर होला लिडरले अपर मुस्ताङ्गको ड्राइभमा नियमीत भन्दा फरक बाटो, बिग्रीएका उकालाहरु तथा खोलामै लगेर अफरोड ड्राइभको अनुभव गराए । जुन एकदमै उत्कृष्ट तथा साचैनै फरक अनुभव रहेको थियो । उकालोमा गाडि अड्किएर व्याक गर्नुपर्दा भिरबाटै खसिनेहोकी भन्ने डर । तर ४ बाई ४ इन्गेज गरेर यी गाडीहरु चलाउदा गाडी त पुरै कन्ट्रोलमा रहने रहेछ ।

अपर मुस्ताङ्गको यात्राको दोस्रो दिनमै पुगियो अपर मुस्ताङ्गको राज्य लोमन्थाङ्ग । लो मन्थाङ्गमा १४ सताप्दीको गुम्बा पनि रहेछ । बजार भित्र अनौठा गल्लीहरु । झण्डै ३० फिटका पर्खालले घेरेको मुख्य बजार अहीले जादा पनि साच्चैनै फर्विडन किङ्गडममा पूगेको अनुभव भई रहेको थियो । लो मन्थाङ्गका होटलहरुको आर्किटेक्चर असाध्यै राम्रो लाग्यो भित्र छिरेपछि वरिपरि रुमहरु अनि बीचमा खाली स्थान जहाँ आगो ताप्ने, खाना खाने इत्यादि । आसाध्यै न्यानो हुने । पहिलो रात आरामले काटियो ।
सातौं दिन
बिहानै उठ्ने बित्तीकै बाहिर हल्लाखल्ला सुनियो हिउ पर्दैछ बाहिर । जुरुक्क उठेर बाहिर जादाँ त साचिनै हिउ फूस फूसाउदै रहेछ । भर्खर पर्न सुरु भएको रहेछ । पातलो पर्दै थियो । ह्या ६ नै बजे के उठ्नु भनेर फेरि सुतीयो आफ्नै न्यानो ओछ्यानमा । १ घण्टा पछि आफ्नो नित्य कर्म सकेर बाहिर जादाँ त सेतो हिँउले छपक्कै छोपेछ । बाक्लै पर्दै रहेछ । रमाईलो अनुभव हुने रहेछ । फोन निकालेर केहि तस्विर खिचिहाले अनि उहि सबैभन्दा ठूलो सामाजीक संजाल फेशबुकमा पोस्टिदिए पनि । क्याप्सन थियो लोमन्थाङ्गमा सिजनकै पहिलो हिमपात ।
म लगाएत धेरै जनाको पहिलो अनुभव थियो यो हिमपात सबै जना खुसीहुदै हिउका डल्लाले एकअर्कालाई हिर्काउदै खेल्न थालीयो । गज्जब अनुभव हुदैथियो । एक साथिले भन्दै थिए १२ बजेसम्म हिमपातको वेदर फोरकास्ट रहेछ । अब बाटो पो बन्द हुने होकी भन्ने संका लागिरहेको थियो । आजको सेड्यूल अनुसार लोमन्थाङ्ग बजार, चारतले गुफा र मिल्यो भने नेपाल चाईना बार्डर कोराला नाका पनि पूग्ने रहर थियो । तर एक्पिडिसनको टोली प्रमुखले कोरला नाका जाने सेड्युल छैन भन्दै थिए ।
विहानको खाजा खाइवरी निस्कियौ अब अपर मुस्ताङ्गका प्राचिन बस्तीहरु घुम्न । टोली नेताले सुरुमै आदेश दिएका थिए, गाडी जसले चलाउँछ उसले गाडी मात्र चलाउने फोटोहरु खिच्ने कोसिस नगर्नूहोला हिमपातले बाटो चिप्लो छ साह्रै होस पूर्याउनु पर्छ होइ । आफूलाई भने गाडी पनि चलाउन पर्ने अनि फोटो पनि खिच्न मनलाग्ने । के गर्ने होला असामजस्यमा परे । अनि निर्णय गरे गाडी नै चलाउछु बरु फोटो खिच्न मन लागेमा गाडी रोकेर वा सँगैको साथिलाई भनेर भएपनि फोटो चाहि खिच्न नछाड्ने ।

अब पालो थियो छोसरमा भएको ४ तेले (जोङ्ग) गुफा हेर्ने । मानव निर्मीत उक्त गुफा ४ तले रहेको छ । भित्रबाट माथि चड्दै जानुपर्ने यो गुफामा अग्ला व्यक्तिलाई उभिन समेत नसकिने छ । उक्त गुफामा आधिकालीन सभ्यताका सामाग्रीहरु समेत संरक्षण गरेर राखिएको रहेछ । गुफा भ्रमणपछि अचानक कोरला नाका जाने अनाउन्समेन्ट भयो । यती टाढा आएर पनि चाइनाको बोर्डर नपुगीने होकी जस्तो लागेको थियो । अब भने इक्छा पूरा हुने भयो । चाइनाको बोर्डर जाने बाटो असाध्यै राम्रो बनाएको रहेछ । कहि कहि त काठमाडाैं सहरको बाटाहरु भन्दा राम्रो । यति माथि पहाडमा कसरी यती राम्रो बाटो बनाएको होला ?

कोरला नाका तर्फको यात्रा यसकारण पनि चित्ताकर्णक रह्योकि दुवैतर्फ हिउले छोपिएका डाँडाहरु माथि माथि पुगेपछि समथर मैदान सर्लक्कै हिउले छोपेको । अगाडि देखियो ठूलो भवन जसको सामन्य चाइनाको रातो तारे झण्डा फहरिरहेको थियो । गाडिबाट बाहिर निस्कदा त सातो नै जाने रहेछ । कारण माईनस ५ डिग्री तापक्रम अनि बेजोडले चलेको चिसो हावा । बाफ रे यस्तोमा कसरी मान्छेहरु बस्छन् । बस्ती त पक्कै थिएन त्यहाँ तर सुरक्षाकर्मिलाई पनि निकै सकस हुने स्थान रहेछ कोराला नाका ।
महिन्द्रा एडेभेन्चरले जुराएको यो यादगार भ्रमणले स्वयं नेपालीलाई नेपाल देखाउन मौका प्रदान गरेकोमा धन्यबाद । लोमन्थाङ्ग जाने मौका त फेरि पनि जुर्नेछ तर आफै महिन्द्राका गाडिहरु चलाएर जाने भने यो विरलै अवसर रहेको थियो । नेपालमा अफरोड ड्राइभ टुरिजम सेक्टरको विकासकालागि यो एक्पिडीसन एक कोशेढुङ्गा सावित हुनेछ । आउदै गरेको भिजीट नेपाल २०२० लाई यसले अवश्य पनि सकारात्मक प्रभाव पार्नेनै छ । विश्वभरी लाखौको संख्यामा रहेका महिन्द्रा एडभेन्चरका फलोअर्सहरुलाई यसले अवश्यपनि आकर्षित गर्ने नै छ ।
महिन्द्राका गाडिहरुलाईको अफरोड क्षमताको समेत प्रत्यक्ष अनुभव गर्ने अवसर जुराएकोमा महिन्द्रा नेपाल र अग्नी इन्कर्पोरेटलाई धन्यबाद ।

