महिन्द्रा र सुजुकीका इलेक्ट्रीक एसयूभीमा बीवाइडीको ब्याट्री

काठमाडौं । भारतीय बजारका दुई ठूला कार निर्माता मानिने मारुती सुजुकी र महिन्द्राले आफ्नो नयाँ विद्युतीय एसयूभीमा बीवाइडीको ब्लेड ब्याट्री प्रयोग गर्ने पक्का भएको छ ।

यसअघि यी दुबै कम्पनीले भारतमै बीवाइडीले उत्पादन गर्ने ब्याट्री प्रयोग गर्ने योजना बनाएपनि बीवाइडीको लगानी स्विकृति भारत सरकारले नदिएको कारण चीनबाटै आयात गर्न लागेको अटोकार इन्डियाले उल्लेख गरेको छ ।

सुजुकी र महिन्द्रा दुबैले आफ्नो आउने क्रममा रहेका इलेक्ट्रीक एसयूभीको परीक्षण गरिरहेका छन् । महिन्द्राले वर्न इलेक्ट्री मोडल ई–८को परीक्षण गरिरहेको छ । सुजुकीले आफ्नो आउँदै गरेको वाइवाइ८ मोडलकमा बीवाइडीको ब्याट्री प्रयोग गर्ने छ । यी दुबै कार सन् २०२५ को सुरुवातबाट बजारमा आउने छन् ।

बीवाइडीले ६० किलोवाट आवर र ८० किलोवाट आवरका दुई ब्याट्री अप्सन निर्यात गर्ने यसअघि नै सहमति भइसकेको छ । त्यही अनुसार बीवाइडीले आफ्नो उत्पादन तयार गरिरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

महिन्द्राले फक्सवागेन ग्रुपसँग ईभी विकासमा सहकार्य गर्ने निर्णय लिइसकेको कारण निकट भविष्यमा बीवाइडीको ब्लेड सेल टेक्नोलोजीको अलावा फक्सवागेनको ‘यूनिफाइड’ सेल टेक्नोलोजीमा आधारित ब्याट्री पनि प्रयोग गर्ने अनुमान गर्न सकिन्छ ।

महिन्द्राले ठूलो साइजका एसयूभी बनाउने भएको कारण उसले ८० किलोवाट आवरको ब्याट्री धेरै प्रयोग गर्नेछ । यस्तोमा फक्सवागेनले ८० किलोवाट आवरको ब्याट्री बनाउने छैन । त्यसैले महिन्द्राले लामै समय बीवाइडीको ब्याट्री प्रयोग गर्ने अनुमान गर्न सकिन्छ ।

महिन्द्राले अहिले उत्पादन गरिरहेको एक्सयूभी ४०० को लागि ३२ किलोवाट आवर र ४० किलोवाट आवरको एनएमसी ब्याट्री कोरियन निर्माता ‘एलजी केम’बाट लिइरहेको छ ।


Back_to_top