काठमाडौं । नाडा अटो शो २०१९ नजिकिएसँगै कम्पनीहरुको तयारी तिब्र भएको छ । यस्तोमा नेपालमा सबैभन्दा पहिला इलेक्ट्रीक कार ल्याएको कम्पनी महिन्द्राको तयारी सबैलाई चासोको विषय हो ।
कुनै समय रेभा त्यसपछि इटुव, इभेरिटो, इसुप्रो जस्ता गाडी बिक्री गर्दै आएको कम्पनीले यसवर्षको अटो शोमा इलेक्ट्रीक केयूभी–१०० ल्याउने तयारी गरेको बुझिएको छ ।
अग्नी इनर्जीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको महिन्द्रा भारतीय बजारमा इलेक्ट्रीक कार उत्पादनमा अग्रणी कम्पनी हो ।
‘हामीले नाडा अटो शोमा महिन्द्राको केयूभी १००को इलेक्ट्रीक भेरियन्ट ल्याउने तयारी गरेका छौं तर, अहिल्यै गाडी आउने वा नआउने कुनै टुङ्गो लागि सकेको छैन ।’ कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
यस्तो छ इलेक्ट्रीक केयूभी १००
महिन्द्राको इलेक्ट्रीक माइक्रो एसयूभी ‘केयूभी–१००’ को धेरै पटक प्रोटोटाइप रिभ्यू भइसकेको छ । महिन्द्राले इलेक्ट्रीक केयूभी–१०० लाई प्राथमिकताका साथ उत्पादन गर्ने उद्देश्यले प्रोटोटाइपको रिभ्यू पुरा गरेको हो ।
हाल परिक्षण पुरा गरेको महिन्द्रा इकेयूभी–१०० यही वर्षको अन्त्य वा २०२० को सुरुमै बजारमा आउने छ । यो कारमा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
इकेयूभी–१०० ले एक पटकको फुल चार्जमा १ सय २० किलोमिटरसम्म माइलेज दिने छ । यो गाडीको लेन्थ ३७ सय एमएम, वाइड १७ सय ३५ एमएम, हाइट १६ सय ५५ एमएम रहेको छ भने ह्वीलवेस २३ सय ८५ एमएम रहेको छ ।
लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी–१०० मूल्य ९ देखि १० लाख भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ । महिन्द्राको इकेयूभी निक्कै प्रतिक्षित कारको रुपमा रहेको छ ।


