काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले मोडुलर इलेक्ट्रीक स्केटबोर्ड प्लेटफर्म सार्वजनिक गर्दै सन् २०२६ सम्म विद्युतीय गाडीमा कम्पनीको योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘आईएनजीएलओ’ नामबाट नयाँ प्लेटफर्मलाई संवोधन गरेको छ ।
महिन्द्राले यसअघि भन्दै आएको वर्न इलेक्ट्रीक ईभी पहिलो पटक सन् २०२४ मा बजारमा आउने बताएको छ । यसअघि कम्पनीले एक्सयूभी ४०० र केयूभी १०० ईभी बजारमा ल्याउने छ । महिन्द्राको ‘आईएनजीएलओ’ प्लेटफर्ममा सबै इलेक्ट्रीक एसयूभी उत्पादन हुनेछन् ।

नयाँ प्लेटफर्ममा बन्ने एसयूभीहरूको लम्बाइ ४३६८ एमएमदेखि ४७३५ एमएमसम्म लामो हुने छन् । यी एसयूभीमा २७६२ एमएमदेखि २७७५ एमएमसम्म लामो ह्वीलबेस रहने छ । कम्पनीले ल्याउने ईभीमा २१८ एमएमसम्मको ग्राउन्ड क्लियरेन्स पाउन सकिने छ ।
महिन्द्राले ‘आईएनजीएलओ’ प्लेटफर्ममा बन्ने ईभीमा प्रयोग हुने ब्याट्री साइजको विषयमा पनि जानकारी दिएको छ । यो प्लेटफर्ममा निर्माण हुने ईभीमा सेल टु प्याक टेक्नोलोजीमा आधारित एलएफपी ब्याट्री रहने छ । नयाँ बन्ने एसयूभीहरूमा ६०–८० किलोवाट आवर क्षमताका ब्याट्री रहने छन् । १७५ किलोवाट क्षमताको डीसी फास्ट चार्जर सर्पोट गर्ने यी गाडीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ३० मिनेट लाग्ने छ । यी गाडीको रेन्ज पनि ४३५ देखि ४५० किलोमिटरसम्म हुने बताइएको छ ।

महिन्द्राकाे नयाँ इभीहरू रियर ह्वील, फ्रन्ट ह्वील र अल ह्वील ड्राइभ सिस्टममा आउने छन् । फ्रन्ट ह्वील ड्राइभमा ८० किलोवाट, रियर ह्वील ड्राइभमा २१० किलोवाट र अल ह्वील ड्राइभमा २५० किलोवाट क्षमताको मोटर रहने छ ।
सुरक्षाका लागि पनि महिन्द्राले ल्याउने ईभी विशेष हुनेछ । कम्पनीले सबै क्षेत्रका एनक्याप रेटिङमा अब्बल स्कोर ल्याउने दाबी गरेको छ । अल्ट्रा हाइस्ट्रेन्थ स्टीको माध्यमबाट यसको ब्याट्रीलाई सुरक्षित गरिने कम्पनीको भनाइ छ । लेभल दुईको अटोनोमस ड्राइभिङ सिस्टम रहने एसयूभीहरूमा आधुनिक सबै किसिमका सुरक्षा फिचर रहने छन् ।

आधुनिक क्याबिन, लग्जरी फिचर र आरामदायी यात्राको लागि उत्कृष्ट बन्ने दाबी गरिएको महिन्द्राका ईभी दुई सव–ब्राण्डमा आउने छन् । एक्सयूभी इ र बीई सिरिजमा आउने पहिलो गाडी एक्सयूभी ई ८ हुनेछ । सन् २०२४ को डिसेम्बरबाट यसको विक्री सुरू हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी, सन् २०२५ अप्रिलमा एक्सयूभी ई ९, २०२५ कै अक्टोबरमा बीई ०५, २०२६ को अक्टोबरमा बीई ०७ बजारमा आउने छन् ।


