बाबियाचौर । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ ।
मालिका गाउँपालिका–७ को अर्कलादेखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेँसीमा पुर्याइएको हो । गाउँपालिका र जिल्ला समन्वय समितिद्वारा सञ्चालित अर्कला–बेँसी सडक आयोजनाअन्तर्गत बेँसीसम्म सडक मार्ग पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताए ।
दुई ठाउँमा करीब २०० मिटर पहाडी मार्ग खोल्न बाँकी भए पनि तीन ठाउँमा डाइभर्सन बनाएर बेँसीसम्म जिप, ट्याक्सी, मोटरसाइकल, माइक्रोबस, ट्र्याक्टर चल्न सक्नेगरी सडक पु¥याइएको अध्यक्ष पुनले बताए । आगामी असार महिनाभित्र बाँकी रहेको चट्टानी पहाडमा बाटो बनाइसक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको उनको भनाइ थियो ।
विसं २०७० मा अर्गला पुगेको सडकलाई थप तीन किलोमिटर विस्तार गरेर बेँसीसम्म पुरयाइएको छ । सडक सञ्जालमा जोडिएपछि आवतजावत गर्न, बिरामीलाई अस्पताल पु¥याउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी तथा गाउँमा उत्पादन भएको कृषिजन्य वस्तुको निकासीमा सहज भएको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।
“बेँसीबाट हिँडेर अर्कला पुग्न भिर, खोल्सा र जंगलको बाटो एक घण्टाभन्दा धेरै पैदल हिँड्नुपथ्र्यो” वडाध्यक्ष सुवेदीले भने, “अहिले दश मिनेमै पुगिन्छ । ढुवानी भाडा घटेको छ । स्थानीयवासीलाई आवतजावतमा सुविधा पुगेको छ ।” उक्त सडकबाट धौलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ र रघुगंगा गाउँपालिकाको कुइनेखानी गाउँका ६०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
आयोजनाका प्राविधिक कृष्ण रायका अनुसार पछिल्लो चार वर्षयता उक्त सडक निर्माणमा ३ करोडभन्दा बढी खर्च भइसकेको छ । चालू आर्थिक वर्षमा धौलागिरि गाउँपालिकाले रु ९० लाख र जिल्ला समन्वय समितिले कृषि सडक आयोजनाअन्तर्गत रु ७५ लाख विनियोजन गरेका छन् ।
गत वर्ष जिल्ला समन्वय समितिले दुई वटा शीर्षकमा १ करोड, विसं २०७३ मा ६० लाख रुपैँया र विसं २०७२ मा १५ लाख रुपैँया विनियोजन गरेको थियो । सडक डिभिजन कार्यालयले करीब ४० मिटर पहाड फुटाएर मार्ग खोल्न गत वर्ष करीब डेढ करोडमा शुरु गरेको काम यस वर्ष योजनाले निरन्तरता नपाएपछि रोकिएको छ ।
चट्टानी पहाडयुक्त कठिन भूगोलमा सडक निर्माण गर्दा धेरै समय र लगानी भएको प्राविधिक रायले बताए । अक्करे भिर छिचोलेर गाउँमा सडक र गाडी आउँदा खुशीले गद्गद भएको बेँसीका चूडामणि सुवेदीले बताए ।
धौलागिरि गाउँपालिकाका अध्यक्ष रेशम छन्त्यालले मार्गमात्र खोलिएको सडकको विस्तार, स्तरोन्नति, मोटरेबल पुल निर्माणका साथै मराङका अन्य बस्ती, मल्कवाङसम्म सडक विस्तार गर्न प्राथमिकता दिइने बताए ।