काठमाडौं । अमेरिकी कार निर्माता टेस्लाको बजार पुँजीकरण १ हजार ४९५.६९ अर्ब अमेरिकी डलर पुगेको छ । जुन उसको पछाडि रहेका टप ९ कम्पनीको ५५५.८८ अर्ब डलरले धेरै हो ।
टेस्लाका पछाडि रहेका टोयोटा, साओमी, बीवाइडी, जनरल मोटर्स, मर्सिडिज बैन्ज, बीएमडब्लू ग्रुप, फेरारी, फक्सवागेन ग्रुप र मारुती सुजुकी इन्डिया सबैको बजार पुँजीकरण एकै स्थानमा जोड्दा केबल ९३९.८१ अर्ब डलर मात्रै पुग्छ ।
विश्व बटोमोबाइल्स बजारमा सन् २०२५ धेरै कम्पनीको लागि सुखद भयो । खासगरी विद्युतीय कार निर्माणमा जुटेका कम्पनीहरुले आफ्नो बजार, ब्यापार र बजार पुँजीकरणमा ठूलो वृद्धि गरे ।
सन् २०२५ मा सर्वाधिक बजार पुँजीकरण भएका कम्पनीको सूची अनुसार टेस्लाको सेयरमा आएको उछालले सन् २०२४ को तुलनामा २०२५ मा १९९.३४ विलियन डलर वृद्धि भएको हो । यो वृद्धि टोयोटाको कुल मार्केट क्यापभन्दा केबल ७९ अर्ब डलर कम हो ।
बीवाइडीको कुल बजार पुँजीकरणभन्दा टेस्लाको वृद्धि धेरै छ । बीवाइडी धेरै बजार पुँजीकरण भएको अटोमोबाइल्स कम्पनीको सूचीमा चौथो स्थानमा छ । उसको बजार पुँजीकरण २०२४ को तुलनामा २२.३८ विलियन डलरले वृद्धि भएर १३०.२३ अर्ब डलर पुगेको हो ।
धेरै मार्केट क्यापको आधारमा जापानी ब्राण्ड टोयोटा दोस्रो स्थानमा छ । विश्वभर सन् २०२५ मा १ करोड युनिटभन्दा बढी कार बिक्री गरेको टोयोटाको बजार पुँजीकरण २७८.९९ विलियन डलर पुगेको हो । सन् २०२४ को भन्दा १६.३० विलियन बजार पुँजीकरण थपिएको हो ।

सूचीको तेस्रो स्थानमा चिनियाँ स्टार्टअप अटोमोबाइल्स कम्पनी साओमी परेको छ । साओमीको बजार पुँजीकरण १३१.४९ विलियन डलर पुगेको छ । अघिल्लो वर्षको तुलनामा साओमीको बजार क्याप १९.४८ अर्ब डलरले वृद्धि भएको हो ।
यी चार कम्पनी बाहेक टप १० मा परेका कम्पनीमा फेरारीको मात्रै बजार पुँजीकरण ११.२२ अर्ब डलरले घटेको छ । यसअघि पाँचौं स्थानमा रहेको फेरारी सेयर बजारमा गिरावट आएसँगै ३ स्थान तल झरेर ८ औं स्थानमा पुगेको हो । उसको कुल बजार पुँजी करण २०२५ मा ६५.६१ अर्ब डलर कायम भएको छ ।
अमेरिकी जनरल मोटर्सले एक स्थान सुधार गर्दै ७७.४२ अर्ब डलरसहित पाँचौ स्थान सुरक्षीत गर्दा ६७.९६ अर्ब डलरसहित छैटौं स्थानमा मर्सिडिज बेन्च रहेको छ ।
सूचीको सातौं स्थानमा बीएमडब्लू ग्रुप परेको छ । बीएमडब्लू ग्रुपको बजार पुँजीकरण ६६.७० अर्ब डलर छ ।
नवौं स्थानमा ६२.०२ अर्ब डलरसहित फक्सवागेन ग्रुप रहँदा मारुती सुजुकी इन्डिया तीन स्थान सुधार गर्दै टप १० मा स्थान बनाउन सफल भएको छ । मारुती सुजुकी इन्डियाको बजार पुँजीकरण ५९.३९ अर्ब डलर पुगेको छ ।

