काठमाडौं । नेपाली स्कुटर बजारमा (पेट्रोलबाट चल्ने) स्कुटरमा झण्डै आधा हिस्सा होण्डाले ओगट्न सफल भएको छ । सन् २०२५ को ७ महिना (जनवरी-जुलाइ)मा ६ ब्राण्डका आइस स्कुटर आयात हुँदा होण्डा शीर्ष स्थानमा रहेको हो ।
सन् २०२५ मा नेपालमा कुल ४६ हजार ६०५ युनिट आइस स्कुटर आयात भएको छ । जसमा होन्डाले मात्रै कुल २० हजार ५८३ युनिट स्कुटर नेपाल भित्र्याएको हो । यो कुल बजार हिस्साको ४४.१६ प्रतिशत हो ।
नेपालमा होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ रहेको छ । कम्पनीले होन्डा डिओ ११०, डिओ १२५ र होन्डा ग्राजिया स्कुटर बिक्री गर्दै आएको छ ।
यस वर्षको सुरूका तीन महिना होन्डालाई टीभीएसले उछिने पनि चौथो महिनादेखि फेरि होन्डाले कमब्याक गरेको हो । डिओ १२५ ग्राहकको रोजाइमा परेसँगै होन्डा स्कुटर बजारमा मार्केट लिडर बन्न सफल भएको हो ।
स्कुटर बजारमा होन्डालाई पछ्याउँदै टीभीएस दोस्रो स्थानमा रहेको छ । टीभीएसको बजार हिस्सा ३०.५५ प्रतिशत रहेको छ ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ६ महिनामा कुल १४ हजार २४० युनिट स्कुटर नेपाल भित्र्याएको छ । ६ महिनामा टीभीएसले होन्डाकोभन्दा ६ हजार ३४३ युनिट कम स्कुटर ल्याएको हो ।
कम्पनीले टीभीएसको एनटर्क, जुपिटर स्कुटर बिक्री गर्दै आएको छ । टीभीएसले बजारमा एनटर्क १२५ ल्याएसँगै विगतमा लगातार २ वर्षसम्म नेपालमा सर्वाधिक बिक्री हुने स्कुटर ब्राण्डको ताज चुमेको थियो । तर, पछिल्लो समय होन्डाले डिओ १२५ र यामाहाले रेजेड आर १२५ ल्याएसँगै एनटर्कको बिक्रीमा कमी आएको थियो ।
स्कुटर आयातमा तेस्रो स्थानमा रहेको यामाहा होन्डा र टीभीएसभन्दा निकै पछाडि छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडले ७ महिनामा कुल ९ हजार ७४५ युनिट स्कुटर नेपाल भित्याएको छ ।
यामाहाको बजार हिस्सा २०.९१ प्रतिशत रहेको छ । कम्पनीले यामाहाको फसिनो, रेजेडआर, एन म्याक्स, एरोक्स स्कुटर बिक्री गर्दै आएको छ ।
आयातका आधारमा भेष्पा/अप्रिलिया चौथो स्थानमा रहेको छ । डेल्टा अटोकर्पले ७ महिनामा भेष्पा/अप्रिलियाका कुल १ हजार ४० युनिट स्कुटर ल्याएको छ । कम्पनीले भेष्पा र अप्रिलिया ब्राण्डका स्कुटर बिक्री गर्दै आएको छ ।
त्यसैगरी, ९७९ युनिट स्कुटर आयात गर्दै हिरो पाँचौं नम्बरमा रहेको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले हिरो जुम स्कुटर नेपालमा बिक्री गर्दै आएको छ ।
यस्तै, सन् २०२५ को ७ महिनामा प्युजो ब्राण्डका १८ युनिट स्कुटर भित्रिएका छन् । अग्नी मोटोइंकले जनवरीमा १८ युनिट स्कुटर ल्याएको थियो । त्यसयता भने आयात भएको देखिँदैन ।

