काठमाडौं । भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले नयाँ स्वीफ्ट र बलेनो ह्याचव्याक कार फिर्ता बोलाउन घोषणा गरेको छ ।
नयाँ स्वीफ्ट र बलेनोको ब्रेक प्रणालीमा आएको समस्याका कारण कार फिर्ता बोलाउन लागिएको मारुती सुजुकीले जनाएको छ । कम्पनीले आफ्नो वेवसाइट मार्फत ब्रेकमा समस्या आएका कारहरुका लागि सर्भिस क्याम्प संचालन गर्ने सर्कुलर गरेको हो ।
बलेनो र नयाँ स्वीफ्टको ‘ब्रेक भ्याक्युम होस’मा समस्या आएको हो । बलेनो र नयाँ स्वीफ्ट गरि ५२ हजार ६ सय ८६ वटा कार फिर्ता बोलाएको छ ।
मारुती सुजुकीले बलेनो फिर्ता बोलाएको यो पहिलो पटक भने होइन । २०१६ को मेमा कम्पनीले एयरव्यागमा समस्या देखिएपछि ७५ हजार ४ सय १९ वटा कार फिर्ता बोलाएको थियो ।
अहिले फिर्ता बोलाइएको बलेनो र नयाँ स्वीफ्ट २०१७ डिसेम्बर १ देखि २०१८ मार्च १६ को बीचमा उत्पादन भएको हो ।
नेपालमा आएका बलेनोमा समस्या छैन
‘नेपाली बजारमा २०१७ नोभेम्बरसम्म आएका कुनैपनि बलेनोमा समस्या छैन । नयाँ स्विफ्ट नेपाल आएको नै छैन । त्यसैले नेपाली बजारमा जति पनि बलेनो छ ति सबै सुरक्षित छन्’ नेपालको लागि मारुति सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटो कर्पका कायर्कारी निर्देशक करण चौधरीले मेरोअटोसँग भने ।
चौधरीका अनुसार नेपाली बजारमा डिसेम्बरमा बलेनो नआएको र त्यसपछि नेपाल आएका प्रडक्टमा त्यस्ता किसिमको समस्या छैन । कम्पनीले भारत बाहेकका देशमा पठाउने सवारीसाधनको सुरक्षा जाँचमा निकै कडाई गरेको हुन्छ त्यसैले हामीकहाँ भएको बलेनोमा समस्या नभएको उनले बताए ।
‘मैले हिजो यो समाचार देखेपछि कम्पनीमा सम्पर्क गरेर बुझेको थिए । उहाँहरुले नेपाललगायत अन्य देशमा निर्यात भएको बलेनोमा समस्या नभएको जानकारी दिएका छन्’ चौधरीले भने ।