काठमाडौं । विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सीएटीएल’ले नेपाल प्रबेशको ढोका खुल्ला गरेको छ । कम्पनीले नेपालमा धेरै ब्राण्डका सवारीसाधन बिक्री गर्ने एमएडब्लू ग्रुपसँग जोडिएर नेपाल प्रबेश गर्ने भएको हो ।
विशेषगरी एमएडब्लूले नेपालमा बिक्री गर्ने सवारी ब्राण्डहरु फोटोन, सेरेस र चांगनका उत्पादनमा सीएटीएलले नै उत्पादन गरेको ब्याट्री दिइएकोले संयुक्त रुपमा ब्याट्री सर्भिस सेन्टर निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ ।
‘हाम्रा ग्राहकलाई ब्याट्री सम्बन्धी सबै सुविधा प्रदान गर्न सीएटीएलसँग सहकार्य गर्न लागेका हौं । हाम्रो सहकार्यले नेपालमै सीएटीएलका ब्याट्रीमा आउन सक्ने समस्या समाधान गर्नेछ’, एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले मेरोअटोसँग भने ।
अग्रवालका अनुसार ब्याट्री सर्भिस सेन्टर स्थापनामा सीएटीएलले पूर्णरुपमा सहयोग गर्ने र नेपालमा ब्याट्री सम्बन्धी दक्ष जनशक्ति उत्पादनमा सहकार्य गर्ने विषयमा अहिले सम्झौंता भएको छ । नेपालमा ईभीको अवस्था र बजार माग हेरेर थप योजना बनाउने उनले बताए ।
‘अहिल्यै ब्याट्री एसेम्बल वा उत्पादनमा जान सकिदैन । दक्ष जनशक्ति अभाव र हाम्रो ब्याट्री उत्पादनमा अनुभव नै छैन । त्यसैले सुरुमा सानो कामबाट हामी अगाडि बढ्छौं । तर, त्यसले ग्राहकलाई भने निकै ठूलो पाइदा पुग्छ’, अग्रवालले भने ।
निकट भविष्यमा ब्याट्री सर्भिसमा ठूलो चुनौती र अवसर देखेर नै एमएडब्लू ग्रुपले विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादकसँग हात मिलाएको हो । अहिले नेपालमा बिक्री हुने अधिकांश ब्राण्डमा सीएटीएलको ब्याट्री नै प्रयोग भइरहेको छ ।

