काठमाडौं । विद्युतीय कारको माग बढेसँगै विश्वभर ईभी उत्पादनमा प्रयोग हुने ब्याट्रीको नयाँ नयाँ खोज भइरहेका छन् । खोजकै क्रममा पछिल्लो समय सोलीड स्टेट ब्याट्रीको चर्चा चुलिएको हो ।
लिथियम आयोन ब्याट्रीभन्दा छोटो समयमा चार्ज हुने, रेन्ज धेरै पाउन सकिने र आगलागी हुने समस्या करिब शून्य प्रतिशतमा झर्ने भएकाले ठूला अटोमोवाइल कम्पनीहरु सोलीड स्टेट टेक्नलोजीमा आकर्षित भएका हुन् ।
जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्ज र ताइवानी ब्याट्री उत्पादक प्रोलोजियमबीच सोलीड स्टेट ब्याट्रीको अनुसन्धान र विकास गर्ने सम्झौँता भएको छ । यसले विद्युतीय कार टेक्नोलोजीमा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ ।
प्रोलोजियमले शतप्रतिशत सिलीकन अक्साइड एनोड सोलीड स्टेट ब्याट्रीमा इनर्जी डेन्सीटी प्रतिकेजी २९५ देखि ३३० वाट आवर हुनेछ । अहिलेसम्म टेस्लाले बनाएको ४६८० ब्याट्रीमा ३०० प्रतिकेजी वाट आवर इनर्जी डेन्सीटी रहेको छ ।

विश्वकै ठूलो ब्याट्री उत्पादक सिएटीएलले बनाउदै गरेको एमथ्रीपी फस्फेट प्याकमा प्रतिकेजी १६० वाट आवर डेन्सीटी रहेको छ । यो टेक्नलोजीको ब्याट्रीमा महंगो लिथियमको प्रयोगको सट्टामा सिलीकनको प्रयोग हुने भएकोले धेरै सस्तो हुने अनुमान गरिएको छ ।
प्रोलोजियमले पेरिस अटो शोमा देखाएको सोलीड स्टेट ब्याट्रीको सन् २०२३ को सुरुवातबाट परिक्षण हुनेछ । कम्पनीका अनुसार सोलीड स्टेट ब्याट्रीले लिथियम ब्याट्रीको दाँजोमा ७९ प्रतिशतसम्म बढी रेन्ज दिनेछ ।
नयाँ टेक्नलोजीको यो ब्याट्री प्रयोग भएको कारले एक पटकको फुलचार्जमा १ हजार किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दावा गरिएको छ । यो ब्याट्रीलाई फास्ट चार्जरबाट चार्जगर्दा जम्मा १२ मिनेटमा शून्यबाट ८० प्रतिशतसम्मको चार्ज गर्न सकिने बताइएको छ ।
कम मूल्य, धेरै रेन्ज र सुरक्षाको हिसावले उत्कृष्ट सोलीड स्टेट ब्याट्रीको प्रयोगपछि ईभी बजारमा निकै ठूलो प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

