दुई ब्याट्री र तीन मोटर अप्सनमा एमजीको नयाँ इलेक्ट्रीक कार

काठमाडौं । मोसिर ग्यारेज (एमजी)ले आफ्नो कन्भर्टेवल स्पोर्टस् कार साइवरस्टरलाई दुई ब्याट्री साइज र तीन मोटर साइजमा ल्याउने भएको छ । कम्पनीले यहि महिनाबाट चीन र बेलायतमा बिक्री सुरु गर्न लागेको साइवरस्टरको अहिले बुकिङ लिइरहेको छ । एमजी साइवरस्टर एक इलेक्ट्रीक स्पोर्टस् कार हो ।

साइवरस्टरको टप भेरियन्टलाई चीनमा ४८ हजार ६०० डलर मूल्य तोकिएको छ । जबकी बेलायतमा यसको टप भेरियन्टको मूल्य ७६ हजार ४०० अमेरिकी डलर मूल्य कायम भएको छ । एमजीको नेपालको लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले सम्भवत सन् २०२३ को अन्तिमसम्ममा साइवरस्टर नेपाल ल्याउन सक्ने छ ।

एमजी साइवरस्टरको इन्ट्री भेरियन्टमा ६४ किलोवाट आवरको ब्याट्री र २३१ किलोवाट आवरको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा रहेको ब्याट्रीले सिंगल चार्जमा ५०१ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

एमजीले रियर ह्वील ड्राइभ सिस्टममा ल्याएको साइवरस्टरको अर्को भेरियन्टमा ७७ किलोवाट आवरको ब्याट्री र २५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यो ब्याट्रीले सिंगल चार्जमा ५८० किलोमिटर रेन्ज प्रदान गर्नेछ ।

यसको टप भेरियन्ट अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । यसको टप भेरियन्टमा पनि ७७ किलोवाट आवरको ब्याट्री रहन्छ । यसमा ४०० किलोवाटको मोटर दिइएको छ । यसको टर्क ७२५ एनएम रहने छ । यसले ३.२ सेकेन्डमा सून्यबाट १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्छ ।

एमजी ब्राण्डको यो दुई सिट क्षमताको कार ‘साइवर क्यूव प्लेटफर्म’मा बनेको हो । यसको लम्बाई ४५३५ एमएम, चौडाई १९१३ एमएम र उचाई १३२९ एमएम छ । यसमा २६९० एमएमको ह्वीलवेस रहने छ । कम्पनीले यसमा २० इन्चको अलोय ह्वील दिएको छ ।

यसको डिजाइन निकै आकर्षक छ । त्यसैले त यसलाई सर्वाधिक ‘सेक्सी’ लुक्स भएको कार भन्न थालिएको छ । यसलाई आकर्षक देखाउन एलइडी लाइटबारको प्रयोग गरिएको छ ।

यसको इन्टेरियर पुरै चालकलाई ध्यानमा राखेर बनाइएको छ । दुई जना मात्रै बस्न मिल्ने भएको कारण यसको ककपीट चालकमैत्री बनेको छ । लेदर सिट, ६ तरिकाले तातो बनाउन मिल्ने सिट, स्न्यापड्रागनको ८१५५ स्कृन, हिटेड स्टेरिङ ह्वील, बीचमा ठूलो डिजिटल स्कृन यसमा पाउन सकिन्छ ।

आधुनिक गाडीमा हुने सम्पूर्ण सुरक्षा फिचर जडान भएको साइवरस्टरमा एडास फिचर दिइएको छ । यसमा रहेको एडास फिर लेभल २ को हो ।


Back_to_top