काठमाडौं । बजाज भारतीय मल्टीनेशनल अटोमोवाइल ब्राण्ड हो । विश्वका ७० भन्दा धेरै देशमा बिक्री हुने बजाजका उत्पादन स्पोर्टी डिजाइनको रुपमा परिचित र चर्चित छन् ।
बजाजले आफ्ना उत्पादनलाई बलियो बनाउन विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डसँग सहकार्य गरेको छ । त्यसकै परिणाम कम्पनीले भारतमा केटीएम, हस्कभर्ना, ट्रायम्फ जस्ता ब्राण्डसँग संयुक्त लगानीमा मोटरसाइकल उत्पादन गर्दै आएको छ ।
बजाजलाई फरक पहिचान दिएको पल्सर सिरिजमा पनि कम्पनीले ब्यापक परिमार्जन थालेको छ । कम्पनीले १२५ सीसीदेखि २५० सीसीसम्म पल्सरको बलियो लाइनअप तयार पारेको हो । चाँडै ४०० सीसी सेग्मेन्टमा पनि पल्सर आउने बताइएको छ ।
पल्सर सिरिजलाई परिमार्जन गर्ने र नयाँ मोडल थप्ने क्रममा बजाजले ‘एन सिरिज’को उत्पादन थालेको छ । विगत दुई वर्ष भित्रै एन सिरिजमा २५०, १६० र १५० सीसी सेग्मेन्टमा नयाँ पल्सर आइसकेको छ ।
पल्सर १५० क्लासीक मोडल नेपालमा पनि निकै सफल मोटरसाइकल हो । लामो समयदेखि धेरैले रुचाएको मोडलमा पर्दै आएको पल्सर १५० अहिले पनि सफल मोडल मानिन्छ । अब कम्पनीले यसलाई एन १५० को रुपमा मात्रै उत्पादन गर्ने भएको हो ।
डिजाइन
पल्सर एन १५० को डिजाइन कम्पनीले एन १६० बाट लिएको हो । यसमा एलइडी प्रोजेक्टर हेडल्याम्प, टेल ल्याम्प, साइड प्यानल, फ्यूल ट्याङक जस्ता पार्ट एन १६० बाट लिइएको छ ।
इन्जिन
पल्सर एन १५० मा इन्जिन भने पल्सर पी १५० बाट लिइएको छ । यसमा १४९.६८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ । यो इन्जिनले १४.३ बीएच पावर तथा १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
हार्डवयर
बजाज अटोले एन १५० मा ट्यूवलर फ्रेमको प्रयोग गरेको छ । यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । यसको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक प्रयोग गरिएको छ ।
फिचर
पल्सर एन १५० मा इन्फिनिटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, चार्जिङ पोर्ट, एबीएस जस्ता फिचर उपलब्ध छ ।
प्रतिस्पर्धा
यो मोटरसाइकलको डिजाइन तथा पावरले यामाहाको सर्वाधिक सफल मोटरसाइकल एफजेडसँग सिधा प्रतिस्पर्धा गर्छ । यसको प्रतिस्पर्धी एफजेडमा १४९ सीसी सिंगल सिलिन्डर उपलब्ध छ । एफजेडले १३.१ बीएच पावर तथा १२.८ एनएम टर्क जेनेरेट गर्छ ।

