भारतमा एमजीको धमाकेदार इन्ट्री, बिक्री सुरु भएकै महिना टप १० मा

मोरिस ग्यारेज (एमजी)ले भारतीय बजारमा प्रबेश भएको पहिलो महिना नै टप १० भित्र आफ्नो स्थान सुरक्षीत गरेको छ । कम्पनीले भारतीय बजारमा वर्षौदेखि उत्पादन गर्दै आएका निसान, स्कोडा, जीप जस्ता ब्रान्डलाई पछि पार्न सफल भएको हो ।

कम्पनीले गत जुलाईमा १५०८ यूनिट गाडी बिक्री गर्दै ०.८ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

त्यसो त एमजीको प्रबेशले मिडसाइज एसयूभीमा निकै ठूलो परिवर्तन आएको मान्नेहरु धेरै भेटिन्छन् । एमजीले अहिले भारतीय बजारमा एउटा मात्र मोडल सार्वजनिक गरेको छ । निकट भविष्यमा कम्पनीले अन्य ३ नयाँ मोडल सार्वजनिक गर्ने बताएको छ ।

सन् २०१९ को मिडबाट गाडी उत्पादन सुरु गरेको एमजीले यो वर्ष करिब २० हजार हेक्टर कार उत्पादन हुने जनाएको छ । केही समयअघि उत्पादन क्षमताभन्दा बढी बुकिङ्ग आएकाले कम्पनीले हेक्टरको बुकिङ्ग २०१९ को लागि बन्द गरेको जनाएको थियो ।

कम्पनीले अब अन्य मोडलसँगै उत्पादन क्षमता बढाएर २०२० मा ४० हजारभन्दा बढी गाडी बिक्री गर्ने जनाएको छ । साथै, एमजीको इलेक्ट्रीक इजेडएस पनि भारतीय बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको बुझिएको छ । 


Back_to_top