गाडी बिक्रीमा निरन्तर गिरावट आएपछि मारुती सुजुकीले घटायो कामदार

भारतकै सबैभन्दा ठूलो अटो उत्पादक कम्पनी मारुती सुजुकीले ६ प्रतिशतले कामदार कटौति गरेको छ । कम्पनीले दैनिक ज्यालादारीमा काम गर्दै आएका कामदारमा भारी कटौति गरेको रोयटर्सले उल्लेख गरेको छ ।

कम्पनीमा दैनिक ज्यालादारी कामदारको रुपमा काम गर्दै आएका करिब १८ हजार ८४५ कामदार मध्य १ हजार १८१ कामदारलाई मुक्त गरिएको जनाइएको छ । यो कम्पनीको स्थापनादेखि कै पहिलो घटना भएको रोयर्टसले उल्लेख गरेको छ ।

पछिल्लो नौ महिनादेखि लगातार बिक्रीमा आएको गिरावटले भारतीय अटो बजारमा नराम्रो धक्का दिएको छ । परिणाम त कम्पनीहरु आफ्नो खर्च घटाउन लागि परेका छन् ।

औषतमा मासिक १ लाख ५० हजार यूनिटभन्दा बढी कार बिक्री गर्दै आएको मारुती सुजुकीको जुलाई महिनाको बिक्री ९६ हजार यूनिट मात्र भएको छ । यसले कम्पनीको उत्पादन नै घटाउनु पर्ने अवस्था सृजना भएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ ।

कम्पनीले २०१९ को पहिलो ६ महिनामा १०.३ प्रतिशतले उत्पादन घटाएको छ । जसको कारण कामदार कटौतिमा जानु परेको वताईएको छ ।


Back_to_top