भारतमा विन्डसर ईभी चम्किँदा एमजीले बनायो रेकर्ड बिक्री

काठमाडौं । भारतमा २०१९ देखि कार उत्पादन र बिक्री गर्दै आएको एमजी इन्डियाले पहिलो पटक एकै महिनामा ७ हजार युनिट बिक्री पुरा गरेको छ । कम्पनीले विन्डसर ईभी बिक्री थालेसँगै एकपछि अर्को रेकर्ड बिक्री पाउन थालेको हो ।

डिसेम्बर २०२४ मा कम्पनीले ७ हजार ५१६ युनिट कार बिक्री गरेको तथ्यांक सार्वजनिक भएको छ । जुन अघिल्लो वर्षको डिसेम्बरको तुलनामा ५५.२९ प्रतिशतले बढी हो । कम्पनीले नोभेम्बर २०२४ मा पनि ६ हजार १९ युनिट कार बिक्री गरेको थियो ।

कम्पनीले डिसेम्बरमा २ हजार २५४ युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार बिक्री गरेको थियो । जबकी ५ हजार २६२ युनिट ईभी बिक्री गर्न सफल भएको हो । एमजीको बिक्रीमा ईभीको हिस्सा ७० प्रतिशत पुगेको देखिन्छ ।

एमजीले भारतमा विन्डसर, कोमेट र जेडएस ईभी गरी तीन मोडल बिक्री गर्दै आएको छ । चाँडै मिफा–९ र साइबरस्टर बिक्री सुरु गर्न लागेको जनाएको छ । आगामी १७ जनवरीबाट सुरु हुने भारत मोविलिटी एक्स्पो २०२५ मा यी मोडल सार्वजनिक हुनेछन् । मिफा ९ र साइबस्टर अहिले नै नेपालमा बिक्री हुँदै आएका मोडल हुन् ।

भारतमा बढ्दो मागका कारण नेपाली बजारमा विन्डसर आउन सकेको छैन । चाँडै नेपाल आउने मोडलको सूचीमा विन्डसर पनि पर्छ ।


Back_to_top