काठमाडौं । अहिले बजारमा सफलता चुमिरहेको दीपल एस-०५ को नयाँ प्रतिस्पर्धी चाँडै बजारमा आउने भएको हो । दीपल एस-०५ लाई टक्कर दिन एमजीले ‘एस सिक्स’ मोडल ल्याउने तयारी थालेको हो ।
अहिले दीपलले ५७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको एस-०५ लाई टक्कर दिनेगरी बजारमा आउन लागेको एमजी एस सिक्स मोडल दीपलभन्दा ८८ एमएम बढी लामो छ ।
हाम्रो अहिलेसम्मको अनुमान अनुसार एमजी एस सिक्स र दीपल एस-०५ मा मूल्य, फिचर्स, ह्वीलबेस लगायतका कुरामा सिधा टक्कर हुनेछ । यसका अलावा मोटर पावर पनि लगभग समान नै हुनसक्छ ।
त्यसका अलवा ब्याट्री साइज र रेन्जमा भने एमजी एस सिक्स ठूलो हुने देखिन्छ । त्यसैले हामीले यहाँ अहिले बजारको चर्चित मोडललाई टक्कर दिन आउन लागेको एमजी एस सिक्ससँग दीपल एस-०५ को तुलात्मक भिन्नता केलाएका छौं ।
साइज
अहिले बजारमा बिक्री भइरहेको दीपल एस-०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम छ । यसमा २८८० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

एमजी मोटर्सले ल्याउने एस सिक्सको लम्बाइ ४७०८ एमएम छ । जुन दीपलभन्दा ८८ एमएम बढी हो । यसको चौडाइ १९१२ एमएम र उचाइ १६६४ एमएम छ । समग्र साइजमा एमजी एस सिक्स ठूलो छ । तर, ह्वीलबेस भने छोटो छ । एस सिक्समा २८३५ एमएम लामो ह्वीलबेस छ । जुन एस-०५ को तुलनामा ४५ एमएम छोटो हो ।
मोटर र टर्क
नेपाल आउने विद्युतीय गाडीमा मोटर पावरकै आधारमा कर निर्धारण हुने भएको कारण मोटर क्षमताको महत्व हुन्छ । दीपल एस-०५ मा ९९ किलोवाट क्षमताको मोटर छ । सायद, एस सिक्स पनि ९९ वा १०९ किलोवाट मध्ये कुनै एक साइजमा उपलब्ध हुनेछ ।

पीकटर्क भने दीपल एस-०५ ले ३२० एनएम र एमजी एस सिक्सले ३५० एनएम प्रदान गर्छ ।
ब्याट्री साइज
दीपल एस-०५ मा ५६.१ किलोवाट आवरको एलएफपी ब्याट्री छ । अर्को एमजी एस सिक्समा भने ७७ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध हुनेछ ।
टेक फिचर, आधुनिक र मोर्डन क्याबिन लगायत कुरामा दुवै गाडी लोडेड हुनेछन् । यी दुई बीचको प्रतिस्पर्धा कसरी चल्छ ? त्यो हेर्न भने कम्तीमा २०२६ को पहिलो त्रैमासको अन्तिमसम्म कुर्नु पर्ने हुन्छ ।

