असारसम्मकै लागि ‘सोल्ड आउट’ भयो जेडएस इभी, यस्तो छ बुकिङ संख्या

काठमाडौं । एमजी (मोरिस ग्यारेज)को आधिकारीक पारामाउन्ट मोटर्सले फागुन १५ गते आइतबार सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको जेडएस इभी असारसम्मको लागि ‘सोल्ड आउट’ भएको छ ।

पहिलेको भन्दा धेरै रेन्जमा उपलब्ध हुने जेडएसमा १ लाखमात्र मूल्य बढाएको कम्पनीले देशभर रहेका सम्पूर्ण शोरुमबाट बुकिङ लिएको थियो ।

‘सोमबारदेखि बुधबारसम्ममा ४ सय यूनिटभन्दा माथि बुकिङ भएपछि हामीले बुकिङ बन्द गरेका हौं’, पारामाउन्ट मोटर्सको सेल्स टिमले मेरोअटोसँग भन्यो ।

कम्पनी स्रोतका अनुसार अबको कम्तिमा ३ महिना भित्र आउने सम्पूर्ण गाडी बुकिङ भएकोले तत्कालको लागि बुकिङ समेत बन्द गर्नु परेको हो ।

एमजीले जेडएसको फेसलिफ्ट मोडललाई ५१ र ७२ किलोवाट आवरको व्याट्री प्याकमा उपलब्ध गराएको थियो । यसमा रहेको व्याट्रीलाई फुल चार्ज गर्दा सानो साइजको ३१९ र ठूलो साइजले ४४० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

पहिलेको भन्दा ठूलो ब्याट्री र धेरै रेन्ज भएसँगै ग्राहकको आकर्षण एमजी जेडएस इभीमा भएको प्रस्टै देखिन्थ्यो । कम्पनीले सानो ब्याट्री भएको गाडीको मूल्य ५१ लाख ९९ हजार र ठूलो ब्याट्री भएको मोडलको मूल्य ५९ लाख ९९ हजार तोकेर बुकिङ सुरु गरेको थियो ।

एमजीको जेडएस इभी नेपालमा सर्वाधिक विक्री भएको विद्युतीय गाडी हो । पहिलेको तुलनामा परिमार्जन सहित आएको जेडएस इभीमा अगाडिको फेसिकादेखि अलोय ह्वीलसम्म व्यापक परिवर्तन गरिएको छ । साथै, कम्पनीले यसको ड्यासवोर्डमा पनि परिमार्जन गरेको छ ।

रिडिजाइन बम्पर, नयाँ हेडल्याम्प र टेलल्याम्प, बडी कलरको फ्रन्ट ग्रिल, १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, आई-स्मार्ट कनेक्ट कार टेक्नोलोजी जस्ता फिचर यसमा थप भएर आएको छ ।


Back_to_top