काठमाडौं । एमजी-४ नेपाल आएको झण्डै एक महिना हुन लागिसकेको छ । पारामाउन्ट मोटर्सले नाडा अटो शो २०२३ बाट बिक्री सुरु गर्न लागेको नयाँ इलेक्ट्रीक ह्याचव्याक निकै आकर्षक डिजाइनको कारण विश्व बजारमा चर्चा कमाइ रहेको मोडल मानिन्छ ।
निकै परिस्कृत र एग्रेसिभ फ्रन्ट लुक्स यसको बलियो पक्ष हो । झट्ट हेर्दा लेम्बोर्गनीबाट प्रेरित फ्रन्ट फेसियाले जो कोहीलाई नलोभ्याउने कुरै भएन । यसको बनोट र पफर्मेन्सकै कारण बेलायतको ‘कार अफ दी इयर २०२३’ अवार्ड समेत यसले जित्न सफल भएको छ ।
एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले गत शुक्रबार उपत्यकामा थोरै मिडियाहरुलाई बोलाएर टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरेको थियो । कम्पनीले आयोजना गरेको टेष्ट ड्राइभमा करिब ४/५ किलोमिटर एमजी–४ चलाएर ‘फस्ट ड्राइभ’ गरेका थियौं ।
क्याविनका कुरा
हामीले टेष्ट ड्राइभ गरेको एमजी-४ को बेस भेरियन्ट थियो । बेस भेरियन्ट भएको कारण यसमा रहेका फिचरलाई सुरुमा मैले ध्यान नै दिइन । गाडीमा बसेपछि सुरुमै स्टेरिङ ह्वीलले आकर्षित गर्छ ।

स्पोर्टस् कारबाट प्रेरित टु स्पोक स्टेरिङ ह्वील निकै ह्याण्डी छ । स्मुथ ड्राइभिङ यसको मुख्य आकर्षण हो । साथमा ड्यासबोर्डको बीचमा दिइएको इन्फोटेन्टमेन्ट सिस्टम र त्यसको ठिक तल दिइएको गियर सेलेक्टरको कम्बीनेसन उत्कृष्ट छ ।
मिडिया टेष्ट ड्राइभमा उपलब्ध एमजी-४ बेस भेरियन्ट भएको कारण यसमा धेरै फिचरहरु छैनन् । रिभर्स क्यामेरा समेत यसमा पाउन सकिदैन । साथै, बेस भेरियन्टमा वायरलेस मोवाइल चार्जर, इलेक्ट्रीकल्ली मिलाउन मिल्ने ड्राइभर सिटसमेत छैन । त्यस्तै सिट हाइट पनि मिलाउन सकिदैन ।

कम्पनीले अहिल्यै यसको मूल्य सार्वजनिक गरेको छैन । त्यसैले ग्राहकलाई बिक्री सुरु गर्दा बेस भेरियन्टमा पनि सिट परिवर्तन गरेर ल्याउनसके राम्रो हुने देखियो ।
ड्राइभिङ अनुभव
डिजाइन, पावर र कम्फर्टको कारण यसलाई चलाउँदा नयाँ अनुभव गर्न पाइन्छ । रियर ह्वील ड्राइभ भएको कारण पनि यसको ड्राइभिङ एक्सपेरियन्स राम्रो छ । रियर ह्वील ड्राइभले साँचै चलाउनेको मन जित्ने छ । यसमा रहेको १२५ किलोवाट क्षमताको मोटरबाट तपाईले चाहेको पफर्मेन्स निकाल्न सक्नुहुन्छ ।

करिब ४/५ किलोमिटरको ड्राइभमा उकालो, ओरालो र समथर भुगागमा हामीले यसलाई चलायौं । डेडिकेटेड ईभी प्लेटफर्ममा बनेर आएको कारण यसले तपाईलाई निरास पर्ने छैन ।
यसको टर्निङ रेडियस १०.६ मिटर छ । जुन सहरी क्षेत्रको लागि राम्रो मानिन्छ । डब्लूएलटीपीका अनुसार यसमा ५० किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ३५० किलोमिटर चलाउन सकिन्छ ।

चलाउन स्मुद छ । प्रिमियम ह्याचव्याक किन्नेलाई अलग पहिचान र स्थान प्रदान गर्न एमजी–४ सफल होला वा नहोला तर, यसको पर्फर्मेन्सले तपाईलाई खुसी बनाउने छ ।


