काठमाडौं । मित्सुबिशी र इटालीको टोरिनोमा रहेको युरोपेली डिजाइन सेन्टर (इस्टिटुटो युरोपो डी डिजाइन-आइइडी) ले नयाँ विद्युतीय कारको कन्सेप्ट संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।
कम्पनीले मित्सुबिशीको मुनस्टोन नाम दिएर नयाँ ईभी ल्याउने तयारीसहित यो कन्सेप्ट सार्वजनिक गरेको हो ।
यो गाडी फ्युचरिस्टिक डिजाइनमा तयार गरिएको छ । यसको कन्सेप्ट भने आइईडीमा ट्रान्सपोर्टेसन डिजाइनको मास्टर कोर्समा भाग लिने १७ विद्यार्थीले तयार गरेका हुन् ।
उनीहरूले जापानी कार ब्रान्डलाई व्यक्तिगत रूपमा एक प्रपोजल पेश गरेका थिए । यसमा १७ वटा परियोजना प्रस्ताव गरिएकोमा मित्सुबिशीले छनोट गरेको उत्कृष्ट तीन प्रस्तावमा उनीहरूको कन्सेप्ट चुनिएको हो ।

यसैबीच, मित्सुबिशी मुनस्टोन एक क्रसओभर कार हो । यसमा पर्फर्मेन्स निकै राम्रो पाइने र ड्राइभिङ अनुभव रोचक हुने कम्पनीले जनाएको छ । यो ईभी कारमा स्ट्राइक लाइन, अल–ह्वील ड्राइभ अप्सन पनि दिइएको छ ।
यो ईभीको डाइमेन्सन भने ४६६० एमएम लामो, २००० एमएम चौडा र २७०० एमएम अग्लो हुनेछ । यसमा २७०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

यसको इन्टेरियरमा भने निकै मिनिमल डिजाइन गरिएको छ । जहाँ स्टेरिङ ह्वीलको अगाडि सानो साइजको इन्स्ट्रुमेन्ट क्लस्टर, ड्यासबोर्डमा तीन वटा ड्राइभर ओरिएन्टेड स्वीच, सिटको बीच भागमा हेक्जागोनल डायल समावेश गरिएको छ ।

यो कारको कन्सेप्ट निकै आकर्षक रहेकोले जापानी कार मेकर कम्पनीले आगामी ५ वर्षसम्ममा यो डिजाइन प्रयोग भएको कार ल्याउने अनुमान गरिएको छ ।


