काठमाडौं । जापानी कार निर्माता मित्शुवीसीले आफ्नो सफल एसयूभी आउटल्याण्डरको नयाँ जेनेरेशन हाइब्रिड मोडल सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ जेनेरेशन मोडलको डिजाइन र फिचरमा व्यापक परिमार्जन भएर ल्याइएको हो ।
कम्पनीले अमेरिकी बजारमा यसको मूल्य ४१ हजार ३१५ डलर कायम गरेर बुकिङ खुल्ला गरेको हो ।
मित्शुवीसीले आउटल्याण्डरको रेगुलर हाइब्रिड मोडल नेपालमा पनि विक्री वितरण गर्दै आएको छ । अहिले विक्री हुँदै आएको आउटल्याण्डर हाइब्रिड मोडलमा १२ किलोवाट आवरको ब्याट्री दिएको थियो । उक्त ब्याट्रीले अधिकतम ३९ किलोमिटर रेन्ज प्रदान गर्छ । तर, नयाँ जेनेरेशन मोडलको रेन्ज ६१ किलोमिटर रहेको छ । यसमा कम्पनीले ब्याट्रीको क्षमता वृद्धि गरेर २० किलोवाट आवर बनाएको छ ।
नयाँ जेनेरेशन हाइब्रिड आउटल्याण्डरले फुलचार्ज र फुल ट्याङ्की इन्धनमा ६७६ किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ जेनेरेशन आउटल्याण्डरमा २.४ लिटर म्याभिक फोर सिलिण्डर इन्जिन दिइएको छ । यसमा ५६ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।
मित्शुवीसीले नयाँ जेनेरेशन मोडलमा आफ्नो सुपर अल ह्वील कन्ट्रोल सिस्टम दिएको छ । बाहिरी डिजाइनदेखि इन्टेरियरसम्म निकै परिवर्तन गरेर बजारमा ल्याइएको यो एसयूभी ५ सिट र ७ सिट अप्सनमा बजारमा आउने छ ।


