काठमाडौं । विद्युतीय कारमा लगाएको कर वृद्धि भएसँगै विभिन्न कम्पनीले नेपालमा बिक्री गर्दै आएको १०० किलोवाटसम्मका ईभीको मूल्य बढ्ने भएको छ । तर, ५० किलोवाट क्षमतासम्मका कारमा करको दर परिवर्तन नभएको कारण साना मिनी कारको मूल्य भने बढ्ने छैन ।
मूल्य बढ्ने विद्युतीय गाडीमा टाटाले बिक्री गर्दै आएको टिगोर र नेक्सन ईभी, एमजीले बिक्री गर्दै आएको जेडएस ईभी, बीवाइडीले बिक्री गर्दै आएको इ सिक्स, एटो थ्री र एमथ्री, सिजीले बिक्री गर्दै आएको नेटा भी, हुन्डाईले बिक्री गर्दै आएको कोना जस्ता मोडल हुन् ।
टाटा टिगोर ५५ किलोवाट आवरको मोटरमा उपलब्ध छ । यसको मूल्य अब झण्डै २० प्रतिशतले बढ्न सक्नेछ । त्यसैगरी टाटा नेक्सन ईभी प्राइममा ९५ किलोवाटको मोटर छ भने नेक्सन म्याक्समा ९९ किलोवाटको मोटर छ ।
एमजी जेडएसमा पनि ९९ किलोवाटको मोटर छ । बीवाइडी इ सिक्समा ७० किलोवाट र एटो थ्रीमा १०० किलोवाटको मोटर जडान भएको छ । त्यसैगरी नेटा भीमा ७० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । हुन्डाई कोनामा १०० किलोवाट क्षमताको मोटर जडान भएको छ । यी सबै गाडीमा बढीमा २० प्रतिशत मूल्य बढ्न सक्छ ।
बजारमा उपलब्ध केही मोडलको मूल्य घट्ने छ । हुन्डाई आयोनीक ५, एमजी जेडएस ईभी लङ रेन्ज, एटो थ्री १५०, किया निरो जस्ता मोडलको मूल्य घट्ने छ । १०० किलोवाट माथिका गाडीमा १० प्रतिशत अन्तःशुल्क घटाइएको कारण मूल्य घट्ने भएको हो ।
हुन्डाई आयोनीक ५ मा १२५ किलोवाट क्षमताको मोटर जडान भएको छ भने एमजी जेडएस लङ रेन्जमा ११५ किलोवाटको मोटर छ । एटो थ्री र किया निरोमा समान १५० किलोवाटको मोटर रहेको छ । किया निरो अहिले बजारमा बिक्रीको लागि उपलब्ध छैन ।
टेस्लाको २०० किलोवाटदेखि ३०० किलोवाट सेग्मेन्टमा आउने मोडलको पनि मूल्य ५ प्रतिशतले घट्यो । सरकारले यो सेगमेन्टमा ४५ प्रतिशत भन्सार र ४० प्रतिशत अन्तःशुल्क लगाएको छ । यसमा ५ प्रतिशत अन्तःशुल्क घटेको हो ।


