काठमाडौं । नेपाली बजारमा नयाँ एड्भेन्चर मोटरसाइकल आएको छ । बैद्यज् ग्रुपले अहिले बुकिङ लिइरहेको मोर्बिडेली टी ३५२ एक्सको डेलिभरी सुरु गर्न लागेको हो ।
कम्पनीले केही समय अघि नक्साल नारायण चौरमा शोरुम उद्धघाटन गरेर २५० सीसीदेखि १००० सीसीसम्मको मोटरसाइकल सार्वजनिक गरेको थियो ।
अहिले कम्पनीले बुकिङ गरेर बसेका ग्राहकलाई टी ३५२ एक्स असार महिनाको तेस्रो हप्तासम्ममा डेलिभरी दिने जनाएको छ । कम्पनीले यसको मूल्य ९ लाख ९७ हजार रुपैयाँ तोकेर बिक्री थाल्नेछ । यो मोटरसाइकले केटीएम ३९० एड्भेन्चर र सीएफमोटो ४५० एमटी जस्ता मोटरसाइकलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
मोर्बिडेली टी ३५२ एक्समा ३४९.२ सीसीको ट्विन-सिलिन्डर, ८ भल्भ, लिक्विड कुल्ड, इएफआई इन्जिन छ । यो इन्जिनले अधिकतम ४१ हर्सपावर र ३१.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स र स्लिपर क्लच दिइएको छ ।
निकै उत्कृष्ट ह्याण्डलिङ रहेको यो मोडलमा स्वीचेवल डुअल च्यानल एबीएस, अफरोड मोड सहित तीन राइडिङ मोड पाउन सकिन्छ । ट्रयाक्सन कन्ट्रोल, पुरा एलईडी लाइट सेटअप, ७ इन्चको टिएफटी डिस्प्ले, कनेक्ट सिस्टम, नेभिगेसन, एसओएस बटन, पिरेली स्कॉर्पियन अफरोड टायर, स्पोक ह्वील दिइएको छ ।
लंग ट्राभल सस्पेन्सन सेटअपमा आउने टी ३५२ एक्समा १८ लिटरको इन्धन ट्याङ्क पाउन सकिन्छ ।


