काठमाडौं । सन् २०२१ विदा भइसकेको छ । विश्व अर्थतन्त्र र मानव स्वास्थ्यलाई नै ठूलो असर परेको यस वर्षभर विक्री भएको कारको अन्तिम तथ्यांक नआएको भएपनि करिब ७ करोड ९० लाख यूनिट कार तथा साना गाडी विक्री भएको अनुमानित तथ्यांक सार्वजनिक भएको छ । यो गत वर्षको तुलनामा ५.५ प्रतिशतले बढी हो ।
सन् २०२० मा भने ७ करोड ५० लाख यूनिट गाडी विक्री भएको थियो । सन् २०२१ मा सर्वाधिक विक्री भएका टप ५ एसयूभीमा एशियन ब्राण्डको वर्चश्व रहेको छ । टोयोटा, हुन्डाई र होन्डा कम्पनीले उत्पादन गरेका एसयूभी संसारभर धेरै विक्री हुने ५ मध्ये चार मोडलमा परेका छन् ।
सन् २०१६ देखि १८ सम्ममा करिब ९ करोड यूनिट वार्षिक विक्री पुगेको अटो क्षेत्रमा कोभिड १९ को असर प्रस्टसँग देखिएको छ । यस्तोमा हामीले यहाँ सन् २०२१ मा सर्वाधिक विक्री भएका ५ एसयूभीको तथ्यांक प्रस्तुत गरेका छौं ।

५. टोयोटा हाइल्याण्डरः जापानी कार उत्पादक कम्पनी टोयोटाले अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको हाइल्याण्डर निकै चर्चित एसयूभी हो । सन् २०२१ मा टोयोटाले हाइल्याण्डर मोडल ४ लाख १२ हजार यूनिट विक्री गरेको तथ्यांक सार्वजनिक गरेको छ । यो एसयूभी नेपाली बजारमा उपलब्ध छैन ।

४. हुन्डाई टुसानः कोरियन कार निर्माता हुन्डाईको टुसान सर्वाधिक विक्री हुने एसयूभीको चौथो स्थानमा परेको छ । कोरियन अटो जाइन्ट हुन्डाईले सन् २०२१ को सुरुवातमा नै नयाँ जेनेरेशन टुसान बजारमा ल्याएको थियो । नयाँ डिजाइन सहित आएको टुसान विश्वभर ५ लाख ५८ हजार यूनिट विक्री भएको हुन्डाईले जनाएको छ । नेपालमा पनि नयाँ जेनेरेशन टुसान विक्री हुँदै आएको छ ।

३. फक्सवागेन टिगुवानः जर्मन ब्राण्ड फक्सवागेनको चर्चित एसयूभी टिगुवान धेरै विक्री हुने एसयूभीको तेस्रो स्थान लिन सफल भएको छ । फक्सवागनले विश्वभर ५ लाख ७५ हजार यूनिट टिगुवान विक्री गरेको जनाएको छ । केही वर्षअघिसम्म नेपालमा विक्री हुँदै आएको टिगुवान अहिले भने नेपालमा उपलब्ध छैन ।

२. होन्डा सिआर-भीः सर्वाधिक विक्री भएको एसयूभीको सूचीमा होन्डा सिआर-भी दोस्रो स्थानमा रहेको छ । होन्डाको उत्कृष्ट एसयूभी सिआर-भी एक वर्षमा ७ लाख ८३ हजार यूनिट विक्री भएको कम्पनीले जनाएको छ । होन्डाको यो कार नेपालमा पनि विक्री वितरण हुँदै आएको छ ।

१. टोयोटा र्याभफोर: टोयोटाको यो चर्चित एसयूभी नेचुरल्ली एस्पीरेटेड र हाइब्रिड इन्जिनमा उपलब्ध रहेको छ । सन् २०२१ मा नै टोयोटाले र्याभफोरलाई प्लगइन हाइब्रिड टेक्नोलोजीमा पनि उपलब्ध गराएको थियो । गत वर्ष टोयोटाले १० लाख ३० हजार यूनिट र्याभफोर विक्री गर्न सफल भएको छ । टोयोटा र्याभफोर नेपालमा पनि दुई इन्जिनमा उपलब्ध रहेको छ ।

