काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सवारी साधनमा पुर्याएको क्षतिको बीमा दाबी पर्ने क्रम जारी रहेको छ ।
गत साउन ५ गतेसम्म ४३ वटा सवारीको क्षतिपूर्ति माग्दै बीमा दाबी परेकोमा साउन १२ गते आइपुग्दा उक्त संख्या बढेर ५२ पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कुल ४ करोड ७४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको हो । हालसम्म ३८ वटा सार्वजनिक सवारी साधनमा २ करोड ५९ लाख ५० रुपैयाँ र १४ वटा निजी सवारी साधनमा २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।
बाढीले ३५ वटा ईभी, २४ वटा मालबाहक कन्टेनर र ६ वटा मालवाहक ट्रक बगाएको थियो । बगाएका सबै ईभीको भन्सार जाँचपास नभएकाले मोटर बीमा भएको थिएन् । ती ईभीको सामुद्रिक बीमा गरिएको हुन्छ । सामुद्रिक बीमा अन्तर्गत कुल १६ करोड २३ लाख १० हजार रुपैयाँ दाबी परेको प्राधिकरणले जनाएको छ ।
समग्रमा बाढीबाट पुगेको क्षतिका लागि कुल ८४ करोड ३८ लाख ८१ हजार रुपैयाँ बराबरको ६८ वटा बीमा दाबी परेको छ ।

