काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याले सबैभन्दा धेरै प्रभावित बनेको अटोमोवाइल क्षेत्र अहिले निकै ठूलो समस्यामा देखिएको छ । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन विक्रेता र क्रेता दुवैमा विगत १० महिनादेखि लगातार समस्या थपिदै गएको हो ।
सामान्य समयमा वार्षिक २ लाख ५० हजार हाराहारी संख्यामा मोटरसाइकल आयात हुँदै आएको बजारमा विगत १० महिनाको विक्री तथ्यांक हेर्दा १ लाख ६० हजार यूनिट हाराहारी मात्रै आयात भएको छ । जुन अघिल्लो वर्ष करिब ३ लाख ३० हाराहारी भएको थियो । यसले मोटरसाइकलको आयात झण्डै ५२ प्रतिशतले घटेको देखिन्छ ।
‘अहिले आयातको आधारमा १ लाख ६० हजार यूनिट आयात देखिएपनि खुद्रा विक्री निकै दयनीय छ । यसले समग्र दुई पाङ्ग्रे सवारीसाधनको विक्री अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतभन्दा धेरैले घटेको देखाउँछ’, टीभीएस मोटर्सका सीइओ दिपककुमार अग्रावालले मेरोअटोसँग भने ।
नाडाका दुई पाङ्ग्रे सवारीसाधनका सभापति अभिक ज्योतिको अनुसार सरकारले आयात प्रतिबन्ध लगाउँदा १५० सीसी माथिका मोटरसाइकल आउन पाएनन् । आएका साधनले पनि कर्जा महंगो हुँदा ग्राहक पाउन सकेन । त्यसको असर समग्र विक्रीमा परेको हो ।
गाडीको शोरुमहरु रहेको अटो हबको रुपमा चिनिएका थापाथली र नक्साल जस्ता स्थानमा खुलेका शोरुम खाली खाली अवस्थामा छन् ।
‘मोटरसाइकल ल्याउन प्रतिबन्धसँगै कर्जा महंगो बन्दा ग्राहकले मोटरसाइकल किन्न चाहेनन् । साथै, ग्राहकमा खर्च गर्ने कन्फिडेन्ट नआउँदा बजारमा समस्या देखियो’, ज्योतिले मेरोअटोसँग भने ।
समग्रमा चालु आर्थिक वर्षमा मोटरसाइकलको विक्री ७० प्रतिशतसम्मले गिरावट आएको व्यवसायीहरुको भनाई छ । आयातको हिसावले हेर्दा पनि ६० प्रतिशतले गिरावट आएको देखिन्छ ।
कारमा त्योभन्दा धेरै समस्या
कारको विक्री ७० प्रतिशतभन्दा धेरैले गिरावट आएको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षमा करिब २२ हजार कार, जीपको विक्री भएकोमा यो वर्ष त्यो संख्या ८ हजार हाराहारीमा खुम्चने विक्रेताहरुको भनाई छ ।
बढ्दो मूल्य, महंगो ब्याजदर र मानिसको आम्दानीमा आएको गिरावटले कार किन्ने मानिस घटिरहेको समयमा बैंकहरुले कर्जा प्रबाहमा नै रोक लगाउन थालेकाले गाडी विक्री निकै चुनौति पूर्ण अवस्थामा पुगेको ब्यवसायीहरुको भनाई छ ।
‘करिब १० महिना लगाइएको आयात प्रतिवन्ध, बजारमा भएको तरलता अभाव लगायतको कारण विक्री घटेकै थियो । अहिलेको विक्रीले शोरुम संचालन गर्नै कठिन अवस्था आएको छ । बैंकहरुले कर्जा प्रबाहमा नै रोक लगान थालेकाले अब के हुन्छ भन्न सक्ने अवस्था छैन’, नाडाको चार पाङ्ग्रे सवारीसाधन कमिटिका सभापति निराकार श्रेष्ठले भने ।
अहिले गाडी किन्न योजना बनाएर शोरुममा आउने मानिसको संख्या निकै कम रहेको छ । विशेषत गाडीको शोरुमहरु रहेको अटो हबको रुपमा चिनिएका थापाथली र नक्साल जस्ता स्थानमा खुलेका शोरुम खाली खाली अवस्थामा छन् ।
नेपालमा सबैभन्दा धेरै गाडी कर्जा प्रबाह गर्ने स्ट्यान्डर्ड चार्टर्ड, नबिल जस्ता बैंकले कर्जा प्रबाह बन्द गरेसँगै गाडी विक्रेताहरु थप ससंकित भएका छन् । अटोमोवाइल कर्जा बैंकहरुले बन्द गर्नुमा नेपाल राष्ट्र बैंकले अटोकर्जाको जोखिमभार १०० प्रतिशतबाट बढाएर १५० पु¥याउनुलाई मुख्य कारण मानिएको छ ।


