दशैंको मुखमा मोटरसाइकल आयात ४० प्रतिशत घट्यो

काठमाडौं । सरकारले साउन १ गतेबाट १५० सीसी माथिका मोटरसाइकल आयातमा लगाएको प्रतिवन्धको कारण आयात ४० प्रतिशतले घटेको छ । साउनमै आयात प्रतिबन्धको कारण मोटरसाइकलको आयातमा ब्यापक गिरावट भने आएको होइन ।

साउन महिनामा प्रतिबन्ध लाग्नुअघि नै अधिकांश कम्पनीले मोटरसाइकलको एलसी खोलिसकेका थिए । अहिले बजारमा मोटरसाइकल धेरै स्टकमा रहनु, वित्तीय संस्थाले कर्जा प्रबाह नगर्नु, ब्याजदर उच्चदरले वृद्धि हुनु र पेट्रोलको मूल्य आकाशिदा मोटरसाइकल किन्ने मानिस नै घटेका छन् । यस्तो समयमा अझ स्टक बढाउन व्यवसायीले नचाहेको जस्तो देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा आयात ४० प्रतिशतले घटेसँगै दशैंको मुखको व्यापार चौपट हुन लागेको व्यवसायीहरुको आँकलन छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना ३० हजार ८२१ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएकोमा २०७९/८० को पहिलो महिना १८ हजार ७२४ यूनिट मात्र आयात भएको देखिन्छ ।

२५० सीसी माथिका मोटरसाइकलमा बैशाख १४ गतेदेखि नै प्रतिबन्ध लागेको थियो । त्यसका बाबजुद साउन महिनामा २५० सीसीदेखि ४०० सीसी क्षमताका ४० यूनिट मोटरसाइकल नेपाल भित्रिएको छ ।
प्रतिबन्ध लाग्नु अघि नै एलसी खोलिएका र अनएसेम्वल अवस्थाका मोटरसाइकल आयातमा अहिले पनि रोक लागेको छैन ।

त्यस्तै नयाँ मोटरसाइकल तथा स्कुटर खुद्रा ब्यापारमा पनि उच्च गिरावट देखिएको ब्यवसायीहरुको भनाई छ ।

नेपालमै मोटरसाइकल एसेम्बल गर्दै आएको हुलास अटो क्राफ्टका प्रबन्ध निर्देशक शेखर गोल्छाका अनुसार अहिले करिब ५० प्रतिशतले खुद्रा विक्रीमा गिरावट आएको छ ।

भन्सार विभागकको तथ्यांक अनुसार सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर १२५ सीसीसम्मका सेग्मेन्टमा आयात भएको छ । साउनमा १३ हजार ३९२ यूनिट १२५ सीसीभन्दा कम क्षमताका मोटरसाइकल तथा स्कुटर आयात भएको देखिन्छ ।

नेपालमै एसेम्बल गर्न आउने मोटरसाइकलको संख्या पनि अत्यन्त न्यून रहेको छ । अहिले एसेम्बल गर्न बजाजले आफ्ना सबै मोडल र टीभीएसले एक दुई मोडल आयात गर्दै आएका छन् । साउन महिनामा अनएसेम्बल अवस्थाका ३ हजार ९१० यूनिट मोटरसाइकल आयात भएको देखिन्छ ।


Back_to_top