ईभी एक्स्पोमा आउँदै ३ नयाँ इलेक्ट्रीक कार, बजारमा नयाँ रौनक आउने

काठमाडौं । नाडा ईभी एक्स्पो २०२२ मा विभिन्न कम्पनीले नयाँ मोडल बजारमा ल्याउने तयारी गरेका छन् । अहिलेसम्मको अवस्थामा ईभी एक्स्पोमा ९ वटा विद्युतीय सवारी साधन उत्पादन गर्ने ब्राण्डले स्टल बुकिङ गरेका छन् ।

आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ईभी एक्स्पोमा वूलिङ, बीवाइडी र महिन्द्राले नयाँ गाडी प्रदर्शनी गर्ने तयारी थालेका छन् ।

वूलिङले चिनियाँ बजारमा तहल्का मच्चाएको मिनि ईभी नेपाल ल्याउने छ । इन्डोनेशियामा उत्पादन हुने वूलिङ मिनि ईभी अटो एक्स्पोको मुख्य आकर्षण बन्न सक्ने देखिन्छ ।

त्यसैगरी महिन्द्रा एण्ड महिन्द्राले भारतमा दुई हप्तापछि सार्वजनिक गर्न लागेको आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी ४०० पनि नेपालमा हुने ईभी एक्स्पोमा प्रदर्शनी हुने अनुमान गरिएको छ । यद्यपि, यो विषयलाई महिन्द्राको आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले पुष्टि गरेको छैन ।

अग्नी इनकर्पोरेटले स्टल बुकिङ गरेको आधारमा हामीले एक्सयूभी ४०० नेपालमा प्रदर्शनी हुने अनुमान गरेका हौं ।

त्यस्तै बीवाइडीको एटो थ्री चिनियाँ नाका बन्दको कारण नेपाल आउन सकेको छैन । चीनको तिब्बत, सिगात्से, ग्वान्झाओ जस्ता क्षेत्रमा तिब्र गतिमा कोभिड १९ को संक्रमण फैलिएको भन्दै त्यहाँको स्थानिय सरकारले लकडाउन गरेको कारण त्यहाँबाट कुनै पनि सामान आउन सकेको छैन । त्यही कारण एटो थ्री पनि नाकामा अड्किएको छ ।

यी तीनवटै कम्पनीले नेपाल ल्याउन लागेको गाडी कति मूल्यमा आउने छन् भन्ने विषयमा केही जानकारी प्राप्त भएको छैन । वूलिङ र एटो थ्री ईभी एक्स्पोबाटै विक्री सुरु हुनेछन् भने महिन्द्रा एक्सयूभी ४०० भने तत्काल विक्री हुने छैन ।


Back_to_top