दैनिक ८ सयदेखि ८ हजार भाडामा पाइन्छ बाइक, मोडल अनुसार भाडा फरक

काठमाडौं । मोटरसाइकलमा घुम्न जाने योजना बनाउनु भएको छ ? यदि तपाईसँग मोटरसाइकल छैन भनेपनि चिन्तामा नपर्नुहोस् । तपाईको इच्छा पुरागर्छन्, विभिन्न मोटरसाइकल रेन्टल कम्पनीलहरुले । 

काठमाडौं उपत्यका भित्र थोरैसंख्यामा संचालित रेन्टल कम्पनीहरुले मोटरसाइकल भाडामा उपलब्ध गराउने गर्छन् । यस्ता रेन्टल कम्पनीले प्याकेज मार्फत मोटरसाइकल भाडामा लिई घुम्न पाउने व्यवस्था मिलाउँदै आएका छन् । उनीहरुले यात्राको दुरी, समय, मोटरसाइकलको प्रकार लगायतका विषयलाई आधार बनाएर भाडादर निर्धारण गर्ने गर्छन् ।

करिब २० वर्षदेखि जय गुरु गणेश ट्रान्सपोर्ट सर्भिस संचालन गर्दै आएका शुरेन्द्रराज मल्लले विशेषत विदेशी पर्यटक र प्रवासी नेपालीले मोटरसाइकल भाडामा लैजाने गरेको जानकारी दिए । 

मोटरसाइकल किन्ने मानिसको संख्या बढ्दै गएकाले पछिल्लो पाँच वर्षयता भाडामा मोटरसाइकल लैजाने मानिसको संख्या निरन्तर घटेको श्रेष्ठले बताए । 

‘अहिले मोटरसाइकल प्रायः जो कोहीसँग हुनेगर्छ । पहिलाको जस्तो बजार त छैन । तर, विदेश बस्ने नेपाली र विदेशी पर्यटकले भने घुम्नकै लागि मोटरसाइकल भाडामा लैजाने गर्छन्’ श्रेष्ठले मेरोअटोसँग भने । 

प्याकेज अनुरुप मोटरसाइकल भाडामा दिने व्यवस्था रहेको उनले सुनाए । पर्यटन  वर्ष २०२० लाई स्मरण गर्दै श्रेष्ठले यसलाई व्यवस्थित गर्न सके चारपाँग्रे नपुग्ने पर्यटकिय क्षेत्रमा समेत पर्यटन प्रवद्र्धन गर्न मोटरसाइकलले टेवा पुर्याउने उनको तर्क छ । 

कम्पनीका अनुसार विशेषत १५० सीसी सेग्मेन्टका बजाज पल्सर, यामाहा एफजेड, अपाचे आरटीआर, होन्डा सिबी हर्नेट लगायतका मोटरसाइकल भाडामा लिने ग्राहकले दैनिक १५ सयदेखि २५ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । 

महङ्गो भनिएको रोयल इन्फिल्ड, क्रश फायर, बिएमडब्ल्यू, हस्कभर्ना लगायतका कम्पनीको डर्ट तथा एडभेन्चर मोटरसाइकल दैनिक ७ देखि ८ हजार रुपैयाँ भाडादरमा उपलब्ध हुने गरेको छ । भाडादर नेपाली र विदेशी नागरिकलाई फरक –फरक तोकिएको कम्पनीहरुले जनाएका छन् ।

यस्तै, ठमेल स्थित बिएस मोटर बाइक  रेन्टल कम्पनीका संचालक आनन्द मगरले मोटरसाइकल कति समयका लागि भाडामा लैजाने हो, सोही अनुसार प्याकेज निर्माण गर्ने जानकारी गराए । 

हाल आप्mनो कम्पनीले सिआरएफ २५० लगायतका डर्ट र एडभेन्चर मोटरसाइकल दैनिक ७ हजार रुपैयाँ भाडादरमा उपलब्ध गराउदै आएको उनले बताए । 

विभिन्न रेन्टल कम्पनीले दैनिक ८ सयदेखि एक हजार रुपैयाँ भाडामा स्कुटरहरु उपलब्ध गराउँदै आएका छन् ।

मोटरसाइकल भाडामा लिँदा ग्राहकले एक लाखदेखि ५० हजार रुपैयाँसम्म रकम डिपोजिट गर्नुपर्ने कम्पनीहरुले नियम बनाएका छन् । भाडामा लिँदा प्रवासी नेपाली ग्राहकले भिसा कार्ड र विदेशी पर्यटकले पासपोर्टको कपि बुझाउनु पर्ने नीति बनाइएको छ । 

चालकसँग लाइसेन्स भए नभएको चेकजाँच गरेरमात्रै मोटरसाइकल उपलब्ध गराउने गरेको कम्पनीहरुले जनाए । पछिल्लो समय मोटरसाइकल भाडामा लिने नेपाली ग्राहकको संख्या घटेतापनि विदेशी नागरिकको संख्या भने निक्कै बढेको कम्पनी संचालकहरु बताउँछन् । 


Back_to_top