अफर छन्, किन्ने छैनन् !

काठमाडौं । मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरुले चाडपर्वलाई केन्द्रित गर्दै विभिन्न किसिमका अफरहरु ल्याएका छन् । अहिले दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने अधिकांश कम्पनीले स्कीम ल्याएका हुन् ।

नेपालमा धेरै मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने कम्पनीहरु होन्डा, बजाज, टीभीएस, यामाहाले दशैं तिहार लक्षीत स्कीम चलाई रहेका छन् । साथै अन्य ब्राण्ड सुजुकी, बेनेली, जोन्टेस, लेभलिङ, जावा, यज्दी, क्रसफायर, लिफान जस्ता ब्राण्डले चाडपर्व केन्द्रित स्कीम ल्याएका छन् ।

बिक्रेताहरुले चलाइरहेको स्कीममा कम डाउन पेमेन्ट, सून्य प्रतिशत ब्याजदर, नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षको बीमा, वार्षिक कर, निःशुल्क सर्भिसिङ सुविधा जस्ता अफर दिइरहेका छन् । यसका अलावा केही ब्राण्डले हेलमेट, राइडिङ गियरहरु पनि अफर गरेका छन् ।

नगद छुट कुन ब्राण्डको कति ?

कम्पनीहरुले नगद छुट स्कीम चलाइरहेका छन् । क्रसफायर र यज्दी ब्राण्डले आफ्ना उत्पादनमा ५० हजारसम्म नगद छुट अफर गरेका छन् । साथै, जेन्टेसले २० हजारसम्मको नगद छुट दिँदा लेभलिङका स्कुटरमा ३० हजारसम्म छुट पाउन सकिन्छ ।

त्यसैगरी होन्डाले स्क्र्याचकार्ड मार्फत १ लाखसम्म नगद जित्नसक्ने स्कीम संचालन गरिरहेको छ । यामाहाले स्कुटरमा ६ हजार र मोटरसाइकलमा ८ हजार नगद छुट दिने जनाएको छ ।

सुजुकीले आफ्नो मोटरसाइकल वा स्कुटर जुन किनेपनि १० हजार नगद छुट दिने स्कीम ल्याएको छ । कम्पनीले यो स्कीमसँगै जम्ममा ३५ हजारसम्मको स्कीम दिएको जनाएको छ ।

टीभीएसले ‘हर मोडमा उमंग’ स्कीम संचालन गरिरहेको छ । कम्पनीले मोटरसाइकल र स्कुटरमा १० लाखसम्म जित्न सक्ने जनाएको छ ।

बजाजले आफ्नो स्कीममा २५ गुणासम्म क्यासब्याक हुने स्कीम चलाइरहेको छ ।

छैन बिक्री

कम्पनीहरुले आकर्षक स्कीम ल्याएपनि बजारमा बिक्री बढ्न सकेको छैन । निरन्तर दुई वर्षदेखि ओरालो लागेको मोटरसाइकल तथा स्कुटरको बिक्री तत्काल बढ्ने छाँटकाँट छैन ।

बजारमा धेरै ब्राण्डको उपस्थिति र छनोट उपलब्ध रहेपनि युवा जनशक्ति धेरै बाहिर जानेक्रम बढ्दै गएको र नेपालमै रहेकाको पनि आम्दानीमा आएको संकुचनले गर्दा मोटरसाइकलको बिक्री निरन्तर ओरालो लागेको विज्ञहरुको भनाई छ ।


Back_to_top