काठमाडौं । शुक्रबार साँझ ६ बजेदेखि बन्द नारायणगढ-मुग्लिन सडकखण्ड अझै संचालनमा आउन सकेको छैन् ।
तुइन खोलामा लगातार ठूलो पहिरो खसेका कारण अवरुद्ध सडक अझै सुचारु हुन नसकेको हो ।
हिजोदेखि नै पहिरो पन्छाउने प्रयास जारी रहे पनि निरन्तर माथिबाट ढुंगा झरिरहेकाले समस्या भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
‘ढुंगा झर्ने क्रम अझसम्म पनि रोकिएको छैन। आज बिहानदेखि मुग्लिनतर्फ र नारायणगढतर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुचारु भइसकेको जानकारी गराउँछौं । थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन कटिबद्ध छौं। सडक सञ्चालनमा नआउन्जेलसम्मका लागि कृपया धैर्य गरेर बसिदिनुहुन हार्दिक आग्रह गर्दछौं,’ सडक डिभिजनले भनेको छ ।”
२ दिनदेखि सडक अवरुद्ध हुँदा हजारौं सवारी साधन र यात्रु बीच बाटोमै अलपत्र परेका छन् । पहिरोका कारण अलपत्र परेका यात्रुलाई जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आज खाद्यान्न सहयोग गरिएको छ।
साथै, यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । थप पहिरो नखसेमा आइतबार मध्यान्नसम्ममा सडक संचालन गर्न सकिने आशा गरिएको छ ।

