यात्रा संस्मरण : फेरिएको मुक्तिनाथ यात्रा

काठमाडौं । पूर्वाधार विकासले गति नलिए पनि वर्षौंपछि गरिने यात्रा फरक अनुभूति हुनु स्वाभाविक हो । त्यसमा पनि हिमालपारीको जिल्लाको नामले चिनिने मुस्ताङ अलग अनुभूति दिलाउन काफी थियो ।

मेरोअटो डटकममा सम्पादकको भूमिकामा काम गर्न थालेसँगै नेपालका विभिन्न भूभागमा गाडी चलाएर आफैँ जाने अवसर मिल्न थाल्यो । सुरूमा पहाडी जिल्लामा गाडी चलाएर घुम्ने आँट कम थियो । त्यसैले २०७५ साल असोज महिनामा महिन्द्रा स्कर्पियो ५ दिनको लागि भाडामा लिएर मुक्तिनाथ यात्रा गरेको थिए ।

त्यतिबेला दैनिक ११ हजार रुपैयाँ भाडा तिरेर ४८ घण्टाभन्दा धेरै समय खर्चेर मुक्तिनाथ पुगेका थियौं । डिजेलको मूल्य २०७५ सालमा १०० रुपैयाँभन्दा कम नै थियो । यद्यपि, त्यहाँ जाने खराब बाटोको कारण गाडीको मर्मत खर्च धेरै आउने भएको कारण त्यति बेलाको भाडा ठीक थियो । स्कर्पियोमा जाँदा ९ जना गएका थियौं ।

यस पटकको यात्रा २०८० साललाई बिदा गर्दै नयाँ वर्ष २०८१ लाई स्वागत गर्न मुस्ताङ जाने निधो गरियो । बाटो ६ वर्ष अगाडिकै जस्तो होला भन्ने दिमागमा थियो । तर, समाचार भने कयौं पटक बन्दैछ र यति किलोमिटर कालोपत्र भयो भनेर नलेखेको होइन । तथापि, त्यहाँको भौगोलिक अवस्थाको कारण ६ वर्षमा नै यति बाटो बन्यो होला भन्ने विश्वास मलाई लागेको थिएन ।

बेनीदेखि रुप्से झरनासम्मको बाटो यसअघि जाँदा निकै खराब थियो । अहिले बेनीदेखि तातोपानीसम्मको खण्ड निकै राम्रो भएको रहेछ । केही स्थान कालोपत्र, केहीमा कालोपत्रका लागि तयारी र केहीमा ग्राभेलिङको काम चल्दैछ । तर, तपाईं जुनसुकै गाडी लिएर तातोपानीसम्मको यात्रा गर्न सक्नुहुन्छ ।

तातोपानीबाट अगाडि रुप्सेसम्म केही बनेको र धेरै बन्दै गरेको बाटो भेटिन्छ । सडक ढलान पनि चल्दैछ । कतै ग्याबिन वालको काम चलिरहेको छ । तर, बाटोमा काम गर्ने मजदुरको संख्या भने न्यून भेटिन्छ ।

घाँसा बजारबाट अगाडि लागेपछि अधिकांश स्थानमा बाटो निकै राम्रो छ । पुराना बस्ती भएका ठाँउमा बाटो विस्तार भएको छैन । मार्फा गाँउदेखि जोमसोमसम्मको बाटो कच्ची नै छ । तर, गाडी चलाउन कठिन छैन ।

जोमसोमबाट मुक्तिनाथसम्मको बाटो पहिल्यैदेखि राम्रो थियो । अहिले पनि निकै राम्रो पाउन सकिन्छ ।

वैकल्पिक बाटो

यसअघि जाँदा नागढुङ्गा, मुग्लिन, पोखरा हुँदै सिधाबाटो यात्रा गरिएको थियो । यसपटक धेरै वैकल्पिक बाटो प्रयोग गरेर मुक्तिनाथ पुगियो । काठमाडौंबाट नुवाकोट, देवीघाट हुँदै गल्छी पुगियो । नागढुङ्गाबाट गल्छीसम्मको बाटो विस्तारको कारण धेरै जाममा परिने डरले नुवाकोट हुँदै गएका थियौं ।

गल्छीदेखि दमौलीसम्म बिना रोकावट पुग्यौं । दमौलीबाट अर्को बाटो समात्यौं । रुपाताल र बेगनास ताल हेर्दै पोखराको वैकल्पिक बाटो निकै रोमाञ्चक थियो । त्यसपछि कुस्माबाट अगाडि बढ्दा रेगुलर बाटो विस्तारको क्रममा भएको कारण बाग्लुङ हुँदै बेनी पुग्यौं ।

७५० रुपैयाँमा यात्रा

यसपटकको यात्रा स्कर्पियोमा थिएन । हुन्डाईको आयोनिक-फाइभमा थियो । आयोनिक-फाइभ एक प्रिमियम क्रसओभर मोडल हो । यसको ग्राउन्ड क्लियरेन्स १६० एमएम मात्रै छ ।

साथी, मुकेश गुप्ताले करिब २० एमएम ग्राउन्ड क्लियरेन्स बढाएको कारण यसलाई हिमाली भेगमा लान सजिलो थियो । नेपाल विद्युत् प्राधिकरणले बनाएका चार्जरहरूको प्रयोग खुबै गर्न पाइयो । बेगनास, कुस्मा र मुग्लिनको चार्जर प्रयोग गर्दा ७५० रुपैयाँ खर्च गरियो । यसमा काठमाडौंमा फुलचार्ज गरेको रकम भने जोडिएको छैन ।

जे होस् मुक्तिनाथ यात्राले नयाँ जोस पैदा गराएको छ । सडकहरू बन्दैछन् । विद्युतीय गाडीको प्रयोगले यात्राको खर्च बचत भएको छ । त्यसमा पनि विद्युत् प्राधिकरणका चार्जरले ढुक्कसँग यात्रा गर्न सक्ने बनाएको छ ।


Back_to_top