मल्टी कोलिजन एयरब्याग बनाउँदै हुन्डाई, सुरक्षामा नयाँ फड्को

प्यासेन्जर तथा चालकको सुरक्षालाई मध्यनजर गर्दै संसारका अधिकांश अटोमोबाइल्स कम्पनीले आफ्नो कारमा एयरब्याग जडान गर्ने गरेका छन् । एयरब्याग गाडीको एक महत्वपूर्ण सेफ्टी–फिचर हो । पछिल्लो समय अटोमोवाइल कम्पनीहरूले यसमा निकै ध्यान दिइरहेका छन् । विकसित देशहरूमा अधिकांश साना सवारीसाधनहरूमा समेत एयरब्यागको प्रयोग अनिवार्य मानिँदैआएको छ । 

एयरब्यागको आवश्यकतालाई अध्ययन गर्दै दक्षिण कोरियाली कम्पनी हुन्डाईले संसारमै पहिलोपटक मल्टी कोलिजन एयरब्यागको विकास गर्ने घोषणा गरेको छ । हाल प्रयोगमा आइरहेको सिङ्गल यूज एयरब्यागभन्दा बढी प्रभावकारी मानिएको मल्टी कोलिजन एयरब्यागले उच्च सुरक्षाको प्रत्याभूति प्रदान गर्ने कम्पनीको दाबी छ । 

यसले तिव्र गतिको सडक दुर्घटनामा चालक र प्यासेन्जरको रक्षा गर्ने गर्छ । रुख, घर, इलेक्ट्रीकल पोल वा अन्य सवारीसाधनसँग ठक्कर खाँदा सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । 

विशेषतः गाडीको दुर्घटना हुनेबित्तिकै अगाडि भएको सेन्सरले प्रतिमाइक्रो सेकेन्ड प्रेसर काउन्ट गरेर आवश्यक भएको खण्डमा एयरब्याग निकाल्छ । सेन्सरको सिग्नलपछि एयरब्यागमा केमिकल रियाक्सन हुन्छ, जसले गर्दा नाइट्रोजन ग्यास एक सेकेन्डमा दश गुणाभन्दा पनि कम समयमा भरिन्छ र प्यासेन्जर त्यो एयर ब्यागमा ठोकिन्छन् र चोट लाग्न पाउँदैन । 

प्यासेन्जर जब एयरब्यागमा ठोकिएर पछाडि धकेलिन्छन्, तब तत्काल त्यो एयरब्याग फेरि सुक्छ । हाल प्रयोगमा आइरहेको सिङ्गल यूज एयरब्याग एकपटकभन्दा बढी दुर्घटनामा परेपछि कमजोर हुनेगर्छ । तर, हुन्डाईले निर्माण गरिरहेको मल्टी कोलिजन एयरब्यागले दशपटकसम्म सडक दुर्घटना हुँदा प्रभावकारीरुपमा काम गर्न सक्छ । कम्पनीकाअनुसार उक्त एयरब्यागले जस्तोसुकै जटील अवस्थामा फास्ट र क्वीक सुरक्षा प्रदान गर्छ । 

उक्त एयरब्यागमा उपलब्ध प्रणालीले पहिलोपटक भएको दुर्घटनाको कारण अध्ययन गर्नुकासाथै दोस्रोपटक आइपर्ने दुर्घटनाको असर कम गर्ने प्रयास गर्छ । संसारभर अत्याधिक सवारी दुर्घटना बढेसँगै कारमा एयरब्यागलाई अनिवार्य गर्न थालिएको हो । 

हुन्डाईले निर्माण गर्ने भएको मल्टी–कोलिजन एयरब्यागको मूल्य उच्च पर्ने अनुमान गरिएको छ । हुन्डाई मोटर ग्रुपले उक्त एयरब्याग कहिले सार्वजनिक गर्ने भन्नेबारे बिषयमा भने आधिकारीक रुपमा जानकारी दिएको छैन । तर, अटोमोबाइल बजारमा यो प्रविधिको माग उच्च हुने कम्पनीको विश्वास छ । 


Back_to_top