अटो शो २०२३ को भिडियो टुर, के छ के छैन ?

काठमाडौं । गत मंगलवारबाट सुरु भएको नाडा अटो शोको आज तेस्रो दिन हो । तेस्रो दिनको साँझसम्म नै अवलोकनकर्ताको चाप उत्तिकै देखिन्छ । विगतका वर्षमा जस्तै यसपटक पनि अटो शोमा ब्यापक अवलोकनकर्ताहरु भृकुटीमण्डप पुगेका छन् ।

विगत तीन वर्षदेखि कोभिड १९ र पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात प्रतिबन्द लागेको कारण नाडा अटो शो हुन सकेको थिएन । त्यसमा अहिले चलिरहेको मन्दीको प्रभावको कारण अटो क्षेत्र लगभग विमारी अवस्थामा थियो ।

उसोत अटोमोवाइल कारोबार प्रति नेपाल राष्ट्र बैंक पनि सकारात्मक बन्न सकिरहेको छैन । यसका बाबजुद अहिले चलिरहेको अटो शोमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी र इलेक्ट्रीक दुबै सहभागि भए । अहिले अटो शोमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे साधन गरेर ४५ वटाभन्दा बढी स्टल रहेका छन् ।

साथै बैंक तथा वित्तिय संस्थाले पनि स्टल राखेका छन् । लुब्रिकेन्ट, टायर, ब्याट्री तगायत थुप्रै कम्पोनेन्टहरुको पनि स्टल अटो शोमा पाउन सकिन्छ । बैंकहरुले अटो शोमै स्टलहरु राखेर ७ वर्षसम्मको फिक्स तथा परिवर्तनीय ब्याजदरमा अटो लोन दिइरका छन् ।

अटो शोमा सबैखाले गाडीहरु प्रदर्शनीमा रहेपनि इलेक्ट्रीक भेहिकलको स्टलहरु बढी भिडभाड देखिन्छ । मिनी ईभी सेग्मेन्टमा त ‘प्राइस वार’नै देखिएको छ । नयाँ ब्राण्ड सेरेसले आफ्नो मिनी इभीको मूल्य १४ लाख राखेर बुकिङ लिइरहेको छ ।

त्यसैगरी, एमजीले कोमेट मिनी ईभीको मूल्य १८ लाखबाट सुरु गरेको छ । त्यस्तै विलिङले आफ्नो दुबै २०० किलोमिटर रेन्ज तथा ३०० किलोमिटर रेन्ज भएको मिनी ईभीमा ४ लाख छुट दिइरहेको छ ।

एमजीले पनि सेरेस–३ बजारमा आएसँगै जेडएस ईभीमा २ लाख बराबरको स्कीम दिन सुरु गरेको छ । टाटाले २२ लाख सुरुवाती मूल्य राखेर टियागो ईभी बजारमा ल्याएको छ । यसले अटो शोमा धेरै अवलोकनकर्तालाई तानेको बुझन कठिन पर्दैन ।

चिनियाँ न्यू इनर्जी भेहिकल जायन्ट बीवाइडीले प्रिमियम ह्याचव्याक डल्फिन ल्याएर निकै राम्रो रेसपोन्स बटुल्न सफल भएको छ । साइजमा ठूलो र मूल्यमा कम भएकै कारण डल्फीनमा धेरैको आकर्षण देखिन्छ ।

मेक्ससले अटो शोकै सबैभन्दा लग्जरी एमपीभी मिफा ९ ल्याएर ग्राहक तानिरहेको छ । यो एमपीभी १ करोड ४० लाखको मूल्य तोकेर बिक्री सुरु भएको हो ।

नयाँ मोडलको रुपमा कियाले स्पोर्टेजको ५औं जेनेरेशन लन्च गरेको छ । टाटाले पन्च, फोर्सले अर्भानिया, निसानले अटोमेटिक म्याग्नाइट, महिन्द्राले स्कर्पियो क्लासिक, हुन्डाईले एक्सटर जस्ता नयाँ मोडल लन्च गरेका छन् ।

यस वर्षको अटो शोमा फक्सवागेन, स्कोडा, जीप, टोयोटा, सुवरु, रेनो, प्यूजो, चेरी जस्ता ब्राण्डभने छैनन् ।

यस पटकको अटो शोमा अटोमोवाइल ब्राण्डहरुले भविष्यमा आउने मोडल पनि देखाएका छन् । सिजी मोटर्सले नेटा ब्राण्डको नेटा यू, नेटा एस र नेटा जीटी देखाएको छ । लेफ्ट ह्याण्ड ड्राइभ रहेका यी कारहरु बिक्रीका लागि नभई प्रदर्शनका लागि मात्र राखिएको कम्पनीले जनाएको छ ।

त्यस्तै बीवाइडी सिल र हुन्डाई एक्सटर पनि बिक्रीका लागि नभइ अवलोकनका लागि मात्र राखिएको छ ।

नाडा अटो शोमा दुईवटा नयाँ ईभी ब्राण्डले भने तेस्रो दिनसम्म पनि आफ्नो स्टलमा सवारी देखाउन सकेका छैनन् । जी मोटर्सले ल्याउने स्काइवेल र केडिया इन्टरनेशनलले लन्च गर्न लागेको एम्पियर ब्राण्डको इलेक्ट्रीक स्कुटर आइपुगेको छैन ।

दुई पाङ्ग्रेमा लाइफ स्टाइल ब्राण्ड रोयल इन्फिल्डले नयाँ मोडल हन्टर र यज्दीले प्रिमियम एड्भेन्चर बाइक लन्च गरेका छन् । रोइल इनफिल्डले नयाँ मोडल हन्टर ४ लाख ५९ हजारबाटै बिक्री सूरु गरेको छ ।

टीभीएसले रोनीन क्रुजर मोटरसाइकल शोकेस गरेको छ । तर, यसको मूल्य भने सार्वजनिक गरेको छैन । होन्डाले नयाँ १२५ सीसी पावरफुल इन्जिनसहित डियो स्कुटर लन्च गरेको छ । अप्रिलाले १६० सीसीको एसआर मोडल लन्च गरेको छ ।


Back_to_top