काठमाडौं । नाडा अटो शो २०२३ को तीन दिन पुरा भएको छ । तीन दिनमा झण्डै ४० हजार मानिसले अटो शो अवलोकन गरेको आयोजक संस्था नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले जनाएको छ ।
यस वर्षको नाडा अटो शोमा कम मूल्यका इलेक्ट्रीक कारमा सबैभन्दा बढी आकर्षण देखिएको छ । विद्युतीय मिनी कारमा तिब्र प्रतिस्पर्धा भएसँगै साना कार खोज्नेहरुको आकर्षणमा विद्युतीय कार परेका हुन् ।
नाडामा सबैभन्दा ब्यस्थ स्टल टाटा, बीवाइडी, एमजी, नेटा भी र सेरेस ब्राण्डको देखिन्छ । यी सबै ब्राण्डसँग १३ लाखदेखि ४० लाखसम्मका प्रोडक्ट रहेका छन् ।
यस वर्षको नाडा अटो शोमा सबैभन्दा धेरै गाडी बुकिङ पनि टाटा, बीवाइडी, एमजी, सेरेस लगायतका ब्राण्डले गरेका छन् । यी ब्राण्डसँग भएको विद्युतीय गाडीको धेरै मोडलका कारण यी ब्राण्डले ग्राहकलाई आकर्षित गर्न सफल भएका हुन् ।
सेरेसले ल्याएको १३ लाख ९९ हजारको ई-१, एमजीले ल्याएको १७ लाख ९९ हजारको कोमेट र टाटाले ल्याएले ल्याएको २१ लाख ९९ हजार मूल्यको टियागो सबैभन्दा बढी चासो र चर्चा गरिएको मोडल हो । यी कारले अटो शोमा ठूलो भिड आफ्नो स्टलमा जम्मा गर्न सफल भएको देखिन्छ ।

त्यसैगरी नयाँ आएको सेरेस-३ इलेक्ट्रीक एसयूभी, बीवाइडी डल्फीन र एमजी-४ ग्राहकले धेरै धेरेको, खोजेको र बुकिङ गरेको मोडल हो । यी सबै विद्युतीय कार आफ्नो सेग्मेन्ट निर्माणमा अग्रसर देखिएका छन् ।
टाटा टियागोले कमजोर हुँदै गएको ह्याचव्याक सेग्मेन्टलाई एक पटक फेरी उठाउन संकेत गरेको छ । त्यस्तै एमजी-४ र बीवाइडी डल्फीनले त प्रिमियम ह्याचव्याक सेग्मेन्टलाई ‘रिवर्न’ गराएका छन् । खुम्चेको प्रिमियम ह्याचव्याक सेग्मेन्टको वार्षिक बिक्री हुने अंक नाडा अटो शोमै यी दुई मोडलले भेट्टाउने पक्का छ ।
फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनको इलेलक्ट्रीक सी-३ पनि नाडा अटो शोमा धेरैले मनपराएको मोडल हो । अटो शोमा यसलाई हेर्न पनि धेरै मानिस पुगेका छन् । मूल्यको हिसावले ३२ लाखदेखि ३५ लाखसम्मका सिट्रोनको ईभी अटो शोमा राम्रो प्रतिक्रिया पाइरहेको मोडल हो ।
यसका अलावा अटो शोमा नेक्सन ईभी, हुन्डाई कोना, एमजी जेडएस ईभी र बीवाइडी एटो-३ मा पनि अवलोकन कर्ताको चासो बढी देखिन्छ । तर, यी सबै गाडी ४० लाख माथि मूल्य भएको कारण मिनी ईभीमा जस्तो अवलोकनकर्ताको घुँइचो देखिदैन ।
अहिलेसम्म अटो शोमा करिब ८०० विद्युतीय कार बुकिङ भएको बिक्रेताहरुको भनाइ छ ।


