काठमाडौं । आगामी भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ मा दुई नयाँ ब्राण्डसहित विभिन्न १६ ब्राण्डले सहभागिता जनाउने भएका छन् ।
अटो शोमा धेरैभन्दा धेरै मानिसले किन्न सक्ने ब्राण्डका गाडीहरु प्रदर्शनी हुन लागेको हो । नाडाले अहिलेसम्म अटो शोमा भाग लिने कम्पनीको नाम आधिकारीक रुपमा बाहिर नल्याएपनि हामीलाई प्राप्त विवरण अनुसार १६ ब्राण्डले अटो शोमा सहभागिता जनाउने छन् ।
नाडाले छुट्टाएको फ्लोर प्लानमा सहभागि भएका कम्पनीहरु सुजुकी, निसान, टाटा, महिन्द्रा, हुन्डाई, सेरेस, ग्रेटवाल मोटर्स, फोर्ड र सिट्रोन छन् ।
त्यसैगरी, बीवाइडी, नेटा, किया, एमजी, मेक्सस, विलिङ र जी ईभीले सहभागिता जनाउने भएका छन् ।
दुई नयाँ ब्राण्ड लन्च हुने
नाडा अटो शो २०२३ बाट नेपाली बजारमा दुई नयाँ ब्राण्ड प्रबेश गर्ने भएको छ । नाडामा स्टल बुकिङ गर्ने सेरेस नेपालको लागि नयाँ ब्राण्ड हुनेछ । त्यसैगरी जीईभीले बुकिङ गरेको स्टाल पनि कुनै नयाँ कार ब्राण्ड कै भएको चर्चा चलिरहेको छ ।
इलेक्ट्रीक ब्राण्डको ईभीसहित जीईभीले बजारमा प्रबेश गर्ने तयारी गरिरहेको छ । बजारमा आउन लागेका दुबै नयाँ ब्राण्ड ईभी मात्रै उत्पादन गर्ने ब्राण्ड हुनेछन् ।
आकर्षण ईभीमै
नाडा अटो शोमा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेका ब्राण्ड थुप्रै छन् । अटो शोमा टाटा, बीवाइडी, एमजी, नेटा, सेरेस, किया, जीईभी जस्ता कम्पनीले नयाँ मोडलका ईभी बिक्री सुरु गर्दैछन् ।
यसका अलावा हुन्डाई, सिट्रोन, निसान, विलिङ, ग्रेटवाल मोटर्स, नेटा लगायतका ब्राण्डसँग प्रदर्शनीमा ईभी रहने छन् ।


