नाडा र सीसीपीटीआई बीच सहकार्य गर्ने सम्झौंता

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब–काउन्सिल (सीसीपीटीआई) बीच सहकार्य गर्ने विषयमा सम्झौंता भएको छ ।

नाडा अध्यक्ष करण चौधरी र महासचिव सुरेसकुमार उप्रेतिको सहभागितामा चिनियाँ सीसीपीटीआईसँग सम्झौंता भएको हो । उक्त सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवद्र्धधन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

भोलिका दिनमा यस सहकार्यमार्फत व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आवतजावत र नीति वकालत जस्ता विषयमा संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको नाडाले जनाएको छ ।

सम्झौता अन्तर्गत नाडाले नेपालको अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुची राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ ।

सीसीपीटीआई अटोले नेपालमा चिनियाँ लगानी प्रवद्र्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ ।

यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गर्ने, नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिनेछ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।


Back_to_top