नाडाले उडायो आफ्नै निर्णयको धज्जी, वरिष्ठ उपाध्यक्षलाई गर्‍यो सदस्यमा घटुवा

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालमा चलिरहेको द्धन्द्धले नयाँ आकार ग्रहण गरेको छ । नाइमाको स्थापनासँगै नाडाको वरिष्ठ उपाध्यक्ष रहेका आकाश गोल्छालाई सदस्यमा झारिएको हो ।

नाइमा गठनमा सक्रिय भूमिका निर्वाह गरेको आरोप खेपिरहेका गोल्छालाई नाडाको आधिकारिक वेबसाइटमा यसअघि वरिष्ठ उपाध्यक्ष राखिएको थियो । नाइमा गठनसँगै उनको वरिष्ठ उपाध्यक्ष पद हटाएर सदस्य मात्रै राखिएको हो ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालकाे ४७ औं साधारण सभा (२०८० मंसिर)ले सर्वसहमतिमा अध्यक्षसहित सम्पूर्ण कार्यसमिति चयन गरेको थियो । साथै, सदस्यता थपदेखि वरिष्ठ उपाध्यक्षको पद सृजना गरेको थियो । नयाँ विधान संशोधन अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था भएको थियो ।

नाडाको साधारण सभाले पास गरेको विधान जिल्ला प्रशासन कार्यालय (सीडीओ)बाट स्वीकृत नभएको भन्दै हल्लाखल्ला गरिएको थियो । तर, नाइमा गठनसँगै उनको नाम वेबसाइटमा वरिष्ठ उपाध्यक्षबाट हटाएर सदस्य बनाइएको हो ।

‘यो कुनै व्यक्तिको लहडमा भएको काम हो । न कार्य समितिमा छलफल छ । न साधारण सभामा । साधारण सभाले दिएको काम गर्ने अध्यक्ष लगायत कार्यसमितिले वरिष्ठबाट आकाश जीको नाम कसरी हटायो ? आफूलाई अचम्म लागेको छ,’ कार्यसमितिका एक सदस्यले मेरोअटोसँग भने ।

त्यस्तै, अध्यक्ष लगायत टीमको कार्यशैलीमा असहमति जनाउँदै सदस्यबाट राजीनामा दिएका ऋद्धि कार्की भन्छन्, ‘पहिलो दिनबाटै सहमति भाँड्न अध्यक्ष लगायतको टीम लागेको हो । त्यति बेलै आकाश गोल्छा लगायतको टीमले राजीनामा दिनु पर्थ्यो । मैले उनीहरूको हर्कत सहन नसकेर राजीनामा दिएको हुँ । उहाँले पनि छोड्नु पर्थ्यो, वरिष्ठबाट हटाएछन् । यो कुनै अचम्मको घटना भएन ।’

तपाईंलाई वरिष्ठ अध्यक्षबाट हटाए छन् नि, भन्ने प्रश्नमा आकाश गोल्छाले भने, ‘उहाँहरू सबै अधिकार आफुसँग भएको ठान्छन् । त्यसैले जे चाह्यो, त्यही गर्छन् । यसमा मेरो थप टिप्पणी छैन ।’

 


Back_to_top