चलायमान बन्दै यातायात क्षेत्र, वृद्धिदर ३ वर्ष यताकै उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा यातायात क्षेत्र चलायमान बन्दै गएको छ । कोभिडपछि सुस्ताएको अर्थतन्त्रमा क्रमशः सुधार आएसँगै यातायात क्षेत्रमा पनि सुधार आएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्यांक अनुसार अर्थतन्त्रका १८ वटै क्षेत्रको वृद्धिदर धनात्मक भएको छ ।

चालु आवमा यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर ९.४५ प्रतिशत हुने कार्यालयको प्रक्षेपण छ । त्यसैगरी, थोक र खुद्रा व्यापार : मोटर वाहन र मोटरसाइकल मर्मतको वृद्धिदर ३.३ प्रतिशत हुने कार्यालयको अनुमान छ ।

गत आवको तुलनामा यातायात तथा भण्डारणको वृद्धिदर केही घटेको छ । गत आवमा १३.४३ प्रतिशत रहेको यस क्षेत्रको वृद्धिदर चालु आवमा ९.४५ प्रतिशतमा सीमित हुने भएको छ ।

त्यस्तै, मोटर वाहन र मोटरसाइकल मर्मतको वृद्धिदर ३ वर्षपछि पहिलोपटक धनात्मक हुने भएको छ । यसअघि लगातार दुई वर्ष निरन्तर ऋणात्मक भएको यस क्षेत्रको वृद्धिदर चालु आवमा धनात्मक भएको छ । आव २०७९/८० र २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर क्रमशः ४.१० प्रतिशत र ०.३६ प्रतिशत ऋणात्मक थियो ।

थोक र खुद्रा व्यापार :  मोटर वाहन र मोटरसाइकल मर्मत क्षेत्रको वृद्धिदर पछिल्लो १० वर्षमा आव २०७४/७५ मा १७.२३ प्रतिशत र आव २०७३/७४ मा १०.७१ प्रतिशत थियो ।

चालु आवमा सवारी आयात बढेको छ । चैतसम्म झण्डै ११ हजार चारपाँग्रे सवारी साधन आयात भएको छ भने ८० हजार बढी दुईपाँग्रे सवारी भित्रिएका छन् ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने हायर पर्चेज कर्जाको वृद्धिदर पनि ४.७ प्रतिशत रहेको छ । चालु आवमा मात्रै बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ८५ रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यातायात क्षेत्रमा प्रवाह बढ्नुका साथै बिक्री बढ्दा समग्र यातायात क्षेत्रमा सकारात्कमक प्रभाव परेको हो ।

अर्थतन्त्रमा २१ प्रतिशत योगदान

चालु आवको अन्त्यसम्म नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)को आकार ६१ खर्ब ७ अर्ब पुग्ने छ । जसमा यातायात क्षेत्रको १८ खर्ब ४८ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ ।

यातायात तथा भण्डारण क्षेत्रको आकार ८ खर्ब ६८ अर्ब रुपैयाँ र थोक र खुद्रा व्यापार : मोटर वाहन र मोटरसाइकल मर्मत क्षेत्रको ९ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) यातायात तथा भण्डारण र थोक र खुद्रा व्यापार : मोटर वाहन र मोटरसाइकल मर्मत क्षेत्रको योगदान २१.७५ प्रतिशत रहेको छ ।

कार्यालयका अनुसार यातायात क्षेत्रको ७.२० प्रतिशत र मोटर तथा मोटरसाइकल क्षेत्रको योगदान १४.५५ प्रतिशत रहेको कार्यालयको तथ्यांक छ ।


Back_to_top